बाजुरा- बाजुराको बूढीनन्दा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप पारदर्शी बनाउन बैंकिङ प्रणालीमा जाने भएको छ । पञ्जीकरण इकाइ शाखा बूढीनन्दाले शुक्रबार कार्यक्रम आयोजना गरी नगरपालिकाबाट वितरण हुने सम्पूर्ण सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन बैंकिङ प्रणालीको सुरुआत गरिने जानकारी दिएको हो ।
सामाजिक सुरक्षा भत्ता वितरणमा हुने अनियमिता र चुहावट रोक्न नगरपालिकाले पहिलो पटक बैंकिङ प्रणालीको सुरुआत गर्ने भएको हो ।
सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता ल्याउन बैंकिङ प्रणाली र नगरपालिकामा दर्ता हुने व्यक्तिगत घटना प्रक्रियालाई व्यवस्थित बनाउन अनलाइन प्रणालीको सुरुआत गर्ने नगरपालिकाको योजना छ ।
नगर उपप्रमुख सृष्टि रेग्मी, १० वटै वडाका वडाध्यक्ष र वडासचिवबीच सम्पन्न छलफलमा नगरपालिकामा वितरण हुने सम्पूर्ण सेवा-सुविधालाई पारदर्शी बनाउन यस्तो निर्णय भएको उपप्रमुख रेग्मीले बताइन् ।
नगरपालिकामा प्रविधिमार्फत सेवा सुरु भएपछि अब कोही पनि नागरिकले सेवा लिन नगरपालिका धाउनुपर्ने अवस्था अन्त्य हुने उनले दाबी गरिन् ।
यो प्रणाली सुरु भएपछि नगरपालिकाबाट सेवा लिँदै आएका ४ हजार सेवाग्रहीले राष्ट्रिय वाणिज्य बंैक शाखा कोल्टीबाट सेवा पाउनेछन् । नगरपालिकाले पहिलो पटक यो काम सुरु गरेको पञ्जीकरण फिल्ड सहायक धर्मराज पाध्यायले जानकारी दिए ।
सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई व्यवस्थित वनाउन र सेवाग्रहीको सहजताका लागि बूढीनन्दा नगरपालिकाले राष्ट्रिय वाणिज्य बैंक शाखा कोल्टीसँग सम्झौता गरिसकेको छ ।
नगरपालिकाबाट यसअघि सामाजिक सुरक्षा भत्ता सेवा लिँदै आएका ज्येष्ठ नागरिकले भने बैंकबाट पैसा बुझ्न असहज हुने गरेको गुनासो गरेका छन् ।
टाढा-टाढाका वृद्धवृद्धा, अपांगलगायतलाई असहज हुने उनीहरूको भनाइ छ । बैंकमा भीडभाड हुने हुँदा भत्ता वितरण प्रत्येक वडाको वडा कार्यालयमा गरिदिन उनीहरूले नगरपालिकालाई आग्रह गरेका छन् ।
नगरपालिकाले भने ज्येष्ठ नागरिक र रातो कार्ड भएका सेवाग्रहीलाई घरदैलोमा पुगेर सेवा उपलब्ध गराइने जनाएको छ ।