दोलखा- दोलखाको तामाकोसी गाउँपालिकाले अपांगता भएका नागरिकलाई बाटो खर्च दिएरै निःशुल्क स्वास्थ्य परीक्षण तथा परिचयपत्र वितरण सुरु गरेको छ ।
पहिलो दिन मंगलबार वडा नम्बर १ र २ मा स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुणकुमार मिश्रले जानकारी दिए ।
बुधबार वडा नम्बर ३, ४ मा र बिहीबार वडा नम्बर ५, ६ र ७ शिविर सञ्चालन गरिने उनले बताए ।
शिविरमा दक्ष डाक्टरबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण, अपांगता भएका नागरिकलाई सहयोग गर्नुपर्ने आवश्यक सामग्रीको टिपोट, अपांगता परिचयपत्र वितरण तथा परिचयपत्रको वर्ग परिवर्तनलगायत विषयमा प्रशिक्षण दिइने गरिएको छ । कार्यक्रममा पुरानो परिचयपत्रको नवीकरणसमेत गरिनेछ ।