खोटाङ- माघे संक्रान्तिमा खानका लागि खोटाङका स्थानीय वन तरुल खन्न व्यस्त बनेका छन् । माघे संक्रान्तिका दिन खानका लागि स्थानीय वन तरुल खन्न जंगलमा पुगेका छन् ।
वन तरुल निकाल्न स्थानीयले कुटो, कोदालो र झम्पलसहित नजिकका जंगल चहार्ने गरेका छन् । माघे संक्रान्तिमा घर तरुल, सखरखण्ड, इस्कुसको जरा, घीउ, चाकुलगायतका परिकार खाने प्रचलन भए पनि स्थानीयले वन तरुललाई बिशेष महत्त्वका साथ लिने गरेका पाइन्छ ।
माघे संक्रान्तिका दिन ‘एक टुक्रा भए पनि वन तरुल खानुपर्छ’ भन्ने मान्यता रहिआएको हलेसी तुवाचुङ नगरपालिका- ३ च्यास्मीटारका वृद्ध बबरसिंह राईले बताए । कतिपयले आफैँ खानका लागि वन तरुल निकाल्ने गरेका छन् भने कतिपयले बिक्रीका लागि खन्ने गरेका छन् ।
कुनैकुनै घना जंगलमा पाइने वन तरुल निकाल्न निकै मिहिनेत गर्नुपर्ने हुन्छ । वन तरुलको फल जमिनको सतहबाट २-३ मिटरमुनि भेटिने भएकाले गहिरो खाडल खन्नुपर्ने हुन्छ ।
२-३ दिनअघिदेखि माघे संक्रान्तिको दिनसम्मै वन तरुल खन्ने गरिन्छ । वन तरुल खन्नका लागि हुलका हुल स्थानीय माघे संक्रान्तिको केही दिनअघि नै जंगलमा पुग्ने गरेका छन् । निकै मिहिनेतका साथ निकालिएको वन तरुल बिक्रीका लागि बजारमा समेत ल्याउने गरिएको छ ।
कतिपयले माघे संक्रान्तिभन्दा हप्ता दिनअघिदेखि नै कन्दमूल खरिद गरेर राख्ने गरेका छन् । कन्दमूलमध्ये वन तरुलको मूल्य महँगो पर्छ ।
घर तरुलको बिक्री बढ्यो
माघे संक्रान्तिमा खानका लागि स्थानीय बजारमा तरुल, सखरखण्ड र इस्कुसको जराको बिक्री बढेको छ । दिक्तेल, हलेसी, जयराम, अर्खौले, ऐँसेलुखर्क, खोटाङ बजार, चिसापानी, सिमपानी, बाक्सिलालगायतका बजार, सब्जी पसल तथा हाटमा कन्दमूलको बिक्री बढेको हो ।
हाट बजारमा तरुल र सखरखण्ड किन्ने ग्राहकको भीड लाग्ने गरेको छ । माघे संक्रान्तिलाई लक्षित गर्दै हिजोआज सदरमुकामका चोकचोकमा बिक्रीका लागि तरुल राखिएका छन् ।
किसानलाई पनि तरुल र सखरखण्ड बिक्री गर्न भ्याई नभ्याई छ । यस पर्वको अवसरमा स्थानीयले सखरखण्ड र तरुल बिक्री गरेर राम्रो आम्दानी लिने गरेका छन् ।