जुम्ला- जुम्लाका अपांगता भएका व्यक्ति स्वरोजगार बनाउनका लागि सीपमूलक सिलाइ कटाइ तालिम संचालन गरिएको छ । उनीहरूको आयआर्जनका साथै स्वरोजगार बनाउनका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले अपांग पुनस्र्थापना तथा विकास केन्द्र जुम्लासँगको समन्वयमा ३ महिने सिलाइ कटाइसम्बन्धी तालिम दिन थालेको हो ।
चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले तालिमको उद्घाटन गर्दै तालिममा सहभागीलाई सीप सिकेर स्वरोजगार बन्न अपिल गरिन् । उनले भनिन्, ‘सीप सिकेर त्यसको सदुपयोग गरेर आयआर्जनमा सुधार ल्याउनुपर्छ ।’
३ महिने सिलाइ कटाइ तालिम संचालन गर्नका लागि एक जना प्रशिक्षक व्यवस्था गरी १९ पुसदेखि तालिम सुरु गरिएको निमित्त कार्यालय प्रमुख पदमप्रसाद उपाध्यायले बताए । उनले भने, ‘समाजका विपन्न वर्ग पछाडि परेका अपांगता भएका व्यक्तिलाई स्वरोजगार बनाउने उद्देश्यले ९० दिने सिलाइ कटाइ तालिम संचालन गरेका हौँ । तालिमपछि सहभागीलाई ९५ प्रतिशत हाजिरीको आधारमा प्रमाणपत्र बाँड्छौँ ।’
अपांग पुनस्र्थापना तथा विकास केन्द्र, जुम्लाका महासचिव रामकृष्ण न्यौपानेका अनुसार अपांगता भएका व्यक्तिहरूलाई स्वरोजगार बनाएर उनीहरूको जीविकोपार्जनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी सीपमूलक तालिम संचालन गरेका छौँ ।’
समाजमा पछाडि परेका अपांगता भएका व्यक्ति नै हुन् । उनीहरूलाई मूलधारमा ल्याउनका लागि राज्यले विशेष प्रथामिकता दिनुपर्नेमा उनको जोड छ । ९० दिने सिलाइ कटाइ तालिममा सिंजाबाट २ जना, हिमाबाट १ जना, तातोपानीबाट १ जना, पातारासीबाट १ जना, तिला गाउँपालिकाका १ जना र चन्दननाथ नगरपालिकाबाट ४ जना गरी १० जना अपांगता भएका महिला तथा अपांगता व्यक्तिका अभिभावकको सहभागिता रहेको छ ।
त्यसैगरी कैदीबन्दीलाई ४५ दिने हाते होजियारी तालिम संचालन गरेको छ । विभिन्न घटनाका २५ जना कैदीलाई स्वरोजगार बनाउन हाते होजियारी तालिम दिइएको हो ।
होजियारीका लागि दुई प्रशिक्षक व्यवस्था गरी १२ पुसदेखि तालिम सुरु गरिएको निमित्त कार्यालय प्रमुख उपाध्यायले बताए । उनले भने, ‘कैदीलाई स्वरोजगार बनाउने उद्देश्यले ४५ दिने हाते होजियारी तालिम संचालन गरेका हौँ । तालिमपछि सहभागीलाई ९५ प्रतिशत हाजिरीको आधारमा प्रमाणपत्र बाँड्छौँ ।’