close

खुट्टाको अपरेसनपछि उज्यालिएका यी अनुहार

खुट्टाको अपरेसनपछि उज्यालिएका यी अनुहार

Trulli
ADVERTISEMENT

अछाम- दिपायल सिलगढी नगरपालिका वडा नं.- २ डोटीका ५४ वर्षीय यज्ञबहादुर कठायतको १० वर्षअघि भारतमा गाडी दुर्घटनामा खुट्टा भाँचियो । उनले जेनतेन गरेर कमाएको एक लाख ६२ हजार रुपैयाँले भारतमै खुट्टाको शल्यक्रिया गरे । 


शल्यक्रिया भएको केही समय खुट्टाले काम गर्‍यो । उनी सामान्य हिँडडुल गर्न सक्ने भए । विस्तारै उनको खुटले फेरि दुःख दिन थाल्यो । उनी उपचार गरेको केही वर्षमै थला परे । 


त्यसपछि उनलाई जिल्लाबाहिर जान आर्थिक अवस्थाले पुगेन । आफूसँग पैसा थिएन, भएको कमाइजति पहिलो शल्यक्रियामै सकियो । यज्ञबहादुरले भने, ‘त्यसपछि म थला परेँ ।’

 
पहिलो शल्यक्रिया भएको १० वर्षपछि मात्र उनले बयालपाटा अस्पतालले दिने हाडजोर्नीको सेवाबारे थाहा पाए । त्यो कुरा सुनेपछि उनी केही दिन पहिले बयालपाटा अस्पताल पुगेर त्यहाँका अर्थोपेडिक सर्जन डा. मन्दीप पाठकसँग सल्लाह लिए । 


उमेरले पाका यज्ञबहादुरको स्वास्थ्यमा अन्य समस्या पनि रहेछ् । उनलाई मधुमेह, उच्च रक्तचाप र मुटुको चालमा समेत समस्या भएको डा. पाठकले जानकारी दिए । ५० वर्ष कटेका यज्ञबहादुरका अन्य स्वास्थ्य समस्याका कारण शल्यक्रिया गर्न कठिन हुने भए पनि डा. पाठकको नेतृत्वले उनको खुट्टाको दोस्रो पटक शल्यक्रिया गर्ने आँट गर्‍यो । 


‘हामीले दोस्रो विकल्प खुट्टामा प्लेट राख्ने कुरालाई विकल्पका रूपमा राखेर यज्ञबहादुरको खुट्टामा रड राख्ने गरी शल्यक्रियाको तयारी गर्‍यौँ’, डा. पाठकले भने, ‘सहजै पहिलो पटक नै उनको खुट्टामा रड राख्न सफल भयौँ ।’


डा. पाठकले शल्यक्रिया गर्नुपूर्व काठमाडौंका सिनियर अर्थोपेडिक सर्जनसँगसमेत सल्लाह लिएका थिए । सिनियर डाक्टरहरूले जोखिम हुन सक्ने र दुर्गममा स्रोत साधनले समेत अप्ठ्यारो हुन सक्ने सुझाएका थिए । तर, डा. पाठकले आँट गरेर सफल शल्यक्रिया गराएरै छाडे ।  


भारतमा भएको शल्यक्रियाका क्रममा उनको हड्डी जोडिन्छ भनेर पठाइए पनि हालम्म हड्डी नजोडिएको र दुर्घटना हुँदा उनको खुट्टाको सानो हड्डीको भागसमेत हराएको कुरा शल्यक्रियाका क्रममा थाहा भएको डा. पाठकले बताए । 


वृद्ध अवस्थाका मान्छे, त्यसमा पनि मधुमेह, उच्च रक्तचाप, मुटुको चालमा समेत समस्याका कारणले झन् बढी जोखिम हुने डा. पाठकको भनाइ छ । 


‘यस्तो अवस्थामा शल्यक्रिया गर्दा रगत धेरै बग्ने भएका कारण ज्यानै जाने जोखिमसमेत हुन्छ’, उनले भने, ‘तर, हामीले सफलतापूर्वक यज्ञबहादुरको खुट्टामा रड हालेर शल्यक्रिया गर्न सफल भयौँ ।’


खुट्टाको शल्यक्रियापश्चात यज्ञबहादुर कठायतको मुहारमा खुसी छाएको छ । उनले निःशुल्क रूपमा शल्यक्रिया गर्न पाएर आफ्नो खुट्टा संचो भएको महुसुस गरिसकेका छन् । उनले भने, ‘हिजोसम्म त दुखाइ थियो तर आज त्यो दुखाइ पनि हराइसक्यो ।’


आफूले दोस्रो जीवन पाएजत्तिकै खुसी मिलेको कठायतले बताए । डा. पाठक भन्छन्, ‘यस्तो प्रकारको शल्यक्रिया दुर्गममा गर्न कठिन त छ नै, यदि नेपालगंज, काठमाडौंमा गएर शल्यक्रिया गर्ने हो भने कम्तीमा चारदेखि छ लाख रुपैयाँ खर्च लाग्छ ।’ 


खुट्टाको सफल शल्यक्रियापछि प्रशन्न १३ वर्षीय महेन्द्र  


कर्णाली प्रदेशको कालीकोट मालकोट गाँउपालिका वडा नं.- ७ का महेन्द्र भण्डारी १३ वर्षका भए । उमेरले साँनै भए पनि उनले खेतीपाती गर्ने र गोरु जोत्ने गर्छन् । उनी गाउँकै स्कुलमा कक्षा ६ मा पढिरहेका पनि छन् । 


दुई महिनाअघि गोरु जोत्ने क्रममा लडेर उनको खुट्टा भाँचियो । खुट्टा भाँचिएपछि उनका बुबा र आफन्तले गाउँकै घरेलु विधिले उपचार गरे । 


छोराको उपचारका लागि महेन्द्रका बुबाले गाउँपालिकालाई गुहारे । कतैबाट सहयोग नपाएपछि घरको नाजुुक स्थितिले एक महिनासम्म काम्रो बाँधेर घरमै उपचार गराइरहेका दिलबहादुर बटालालाई छोराको खुट्टा संचो भइहाल्छ भन्ने आशा थियो । 


आर्थिक समस्याका कारण उपचारका लागि बाहिर लैजाने स्थिति थिएन । दिलबहादुर भन्छन्, ‘छोराको खुट्टा संचो नभएपछि घरमा रहेको बाख्रो बेचेर अछामतिर लागेँ ।’ 


दिलबहादुरले गाउँका मान्छे लगाएर तीन दिनसम्म स्ट्रेचरमा छोरालाई बोकेर कालीकोटबाट अछामको रामारोशनसम्म पुगे । घरमा पालेको एउटा खसी नौ हजार रुपैयाँमा बेचेर छोराको उपचार गर्न हिँडेका उनी रामारोशनबाट चौथो दिन गाडीमा चढेर बयालपाटा अस्पताल आइपुगे ।


बयालपाटा अस्पतालमा निःशुल्क सेवा पाइन्छ भन्ने सुनेर आफू छोरालाई लिएर यहाँ आएको दिलबहादुरले बताए । बयालपाटामा दिलबहादुरका छोरा महेन्द्रको खुट्टाको सफल शल्यक्रिया भयो । 


यहाँ उपचार नपाए के गर्नुहुन्थ्यो ? भन्ने प्रश्नमा दिलबहादुर भन्छन्, ‘घरमा थोरै जग्गा छ, बूढीलाई त्यो जग्गा बेचेर पैसा हालिदिनू भनेर आएको थिएँ । जसरी भए पनि छोराको खुट्टा त संचो बनाउनु छ ।’ 


उनले गाउँघरमा नेपालगंज लैजानुपर्छ, यहाँ यसको उपचार छैन, ठीक पनि हुँदैन भनेको सुनाउँदै नेपालगंज पुग्न आफूसँग पैसा पनि नभएको बताए ।


शल्यक्रिया भएपछि केही दिनमै महेन्द्र हिँड्ने अवस्थामा पुगिसकेका छन् । ‘अहिले म निकै खुसी छु’, दिलबहादुरले भने, ‘मेरो छोराले खुट्टा टेक्न थालिसकेको छ । विनापैसा छोराको अपरेसन गराउन पाएँ । बयालपाटा अस्पताल जुगौँ चलिरहोस् ।’


यज्ञबहादुर र महेन्द्र जस्तै बाजुरा जिल्लाको कोल्टी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका- ४ की ३३ वर्षीय दूधसरी भण्डारीको पनि काम गर्दैगर्दा लडेर खुट्टा भाँचियो । आर्थिक अभावका कारण उनी उपचार गर्न जान नसकेपछि उनको उपचारका लागि त्यसबेला गाउँपालिकाले आर्थिक सहयोग गरेर हवाईजहाजमार्फत नेपालगंजमा शल्यक्रिया गर्न पठायो । 


उनका श्रीमान् कृष्ण भण्डारीका अनुसार नेपालगंजमा शल्यक्रिया पनि भयो । शल्यक्रियापश्चात उनी घर फर्किइन् तर उनलाई केही दिनमै खुट्टाले दुःख दिन थाल्यो । अपरेसन भएपनि खुट्टाका हड्डी राम्रोसँग नजोडिँदा उनको खुट्टा नै सुन्निएर पाक्न थाल्यो । 


तीन महिना बितेपछि उनी चार दिन लगाएर बयालपाटा अस्पताल आइपुगिन् । उनको पनि दोस्रो पटक बयालपाटा अस्पतालमा शल्यक्रिया भयो । शल्यक्रियापश्चात उनी खुट्टा संचो हुने आसमा छन् । 

 

अछामको साँफेबगरका ३९ वर्षीय ध्वजबहादुर बुढा कामको सिलसिलामा दुबई पुगे । उनको त्यहाँ काम गर्ने क्रममै गाडी दुर्घटना हुँदा खुट्टा भाँचियो । 


उनले दुबईमा खुट्टाको शल्यक्रिया गरेर नेपाल फर्किए । दुर्घटनापश्चात उनको शरीरको हातसहितको एक भाग नचल्ने अवस्थामा पुग्यो । फिजियोथेरापीलगायतका माध्यमबाट उपचार गरेपछि हात-खुट्टा चल्ने अवस्था भएको थियो । 


तर, उनी फेरि काठमाडौंमा दुर्घटनामा परे । उनलाई गाडीले ठक्कर दिएपछि पाटन अस्पतालमा भर्ना भए । उनको त्यहाँ शल्यक्रिया पनि भयो । शल्यक्रियापछि घर फर्किएका उनको घाउ पाक्न थाल्यो, संचो नभए पनि उनी घर फर्किए । 


उनलाई असह्य भएपछि बयलापाटा अस्पताल आइपुगे । उनको खुट्टाको अवस्था हेरेपछि डा. पाठकको टोलीले खुट्टामा राखिएको रड निकालेर घाउलाई संचो पार्न अन्तरंग विभागमा राखेको छ । उनको उपचार भइरहेको छ ।


माथिका उदाहरण केही प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता कयौँ बिरामीको बयालपाटा अस्पतालमा निःशुल्क, सफल तथा गुणस्तरीय शल्यक्रिया सम्पन्न भएका छन् । 


नेपालका दुर्गम भेगमा अहिले पनि स्वास्थ्यमा जनताको सहज पहुँच छैन । शहरी क्षेत्रमा सबै प्रकारका र विशेषज्ञ केन्द्रित स्वास्थ्य सेवा उपलब्ध भए पनि आर्थिक भार धेरै छ । ट्रमा केयरको अवधारणा बने पनि यो काठमाडौं केन्द्रित भएको छ । आर्थिक अभावका कारण धेरैले आफ्नो घाउ बल्झाएर वा थला पारेर बस्नुको विकल्प छैन । दुर्गमका जनतालाई सामान्य स्वास्थ्य सेवा लिन पनि सहज छैन । 


विशेषज्ञसहितको सेवा लिन त सुदूर पहाड तथा कर्णालीको दुर्गम भेगका नागरिकलाई दुई-तीन दिन हिँडेर जानुपर्ने बाध्यता छ । त्यस्तो निःशुल्क सेवा प्रायः सबै ठाउँमा उपलब्ध पनि छैन । 


दुर्गम भेगमा हाडजोर्नीको समस्या धेरै छ । अरूभन्दा महँगो र सहज पहुँच नभएका कारण यसको स्थायित्व र दीर्घकालीन गुणस्तरीय स्वास्थ्य सेवाका लागि ग्रामीण ट्रमा केयरको अवधारणा अघि सार्नुपर्ने डा. पाठक बताउँछन् । कम्तीमा एक प्रदेशमा एक ट्रमा केयर आवश्यक भएको उनको भनाइ छ ।