close

बर्दिवासमा शीतलहरले जनजीवन कष्टकर, जनप्रतिनिधि बेखबर

बर्दिवासमा शीतलहरले जनजीवन कष्टकर, जनप्रतिनिधि बेखबर

Trulli
ADVERTISEMENT

महोत्तरी- महोत्तरीको बर्दिवास नगरपालिकामा सुरु भएको शीतलहरले जनजीवन प्रभावित हुन थालेको छ । बाक्लो हुस्सुसँगै तापक्रमको मात्रा घटेपछि सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनेको हो । अघिल्लो वर्षको तुलनामा छिटो सुरु भएको शीतलहरको प्रभाव विशेषगरी विद्यालय, गरिब र विपन्न वर्गमा देखिएको छ ।

 

आफ्ना नानीबाबुहरूलाई न्यानो कपडा लगाएर विद्यालय पठाउन नसक्ने अभिभावकले पठनपाठनलाई निरन्तरता दिन सकेका छैनन् भने सर्वसाधारणले घरघरमा दाउराको जोहो गरेर आगो बाल्न थालेका छन् ।

 

बर्दिबास- ९ की रामपरी देवी र सुमित्रा देवीलाई यो हिउँद कसरी कटाउने भन्ने पिरलोले मन कुँडिएको छ । ‘गरिबीका कारण छोराछोरीलाई न्यानो कपडा किन्नसमेत पैसा छैन । विद्यालय कसरी पठाउने भन्ने चिन्ता थपिएको छ’, उनीहरूको सामूहिक गुनासो छ । 

 

अघिल्लो वर्षको शीतलहरमा स्थानीय सरकारले एक थान ब्ल्याङ्केट वितरण गरे पनि यसपालि कोही पनि नआएको सुमित्रा सुनाउँछिन् । ‘तातो कपडा किन्न पैसा छैन । खै कसरी कटाउने होला यो हिउँद’, उनी भन्छिन् ।

 

रामपरी र सुमित्रा विपन्न तथा गरिब परिवारका एक प्रतिनिधि पात्र मात्र हुन् । नगरभित्र बसोबास गर्ने कैयौँ नागरिकको उनीहरूको जस्तै चिन्ता भए पनि स्थानीय सरकार भने बेखबर छ ।

 

सडक, पुल तथा भौतिक पूर्वाधारलाई मात्र विकास देख्ने तर जनजीवनसँग प्रत्यक्ष जोडिएको प्रकृतिलाई समस्यै नदेख्ने स्थानीय सरकारको बेवास्ताले शीतलहरबाट कसरी जोगिने भन्नेमा यहाँका नागरिक चिन्तित छन् ।

 

शीतलहरको प्रभाव निर्धारित समयभन्दा दुई-चार दिन ढिलो वा छिटो भए पनि पुस, माघमै यसको प्रकोप देखिने गर्छ । प्रत्येक वर्ष हुने शीतलहरबाट आफ्ना नागरिकलाई जोगाउन पहलकदमी लिनुका साटो स्थानीय जनप्रतिनिधिले जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई नजरअन्दाज गरेको स्थानीयको गुनासो छ ।

 

शीतलहरबारे पूर्वजानकारी भए पनि यसका चुनौतीको सामना गर्न र पूर्वतयारीको विषयमा कार्यपालिकाको बैठक बसेर निष्कर्ष निकाल्नुपर्ने बर्दिबास नगरपालिका वडा नम्बर- ९ का वडा अध्यक्ष टेकवीर राखलले बताए । ‘शीतलहरको प्रभाव सर्वसाधारणमा देखिन थाले पनि अन्य काममा व्यस्त हुँदा यस विषयमा छलफल गर्न नभ्याइएको हो’, वडा अध्यक्ष राखल भन्छन् ।

 

वातावरणविद्को चिन्ता

 

जलवायु परिवर्तनका कारण नेपालमा देखिएको मौसमी उत्तारचढावले समस्या सिर्जना हुन थालेकामा वातावरणविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

 

तराईमा हिउँदमा कुहिरो, हुस्सु वा शीतलहर हुनु प्राकृतिक नियम नै भए पनि एक दशकदेखि यस्सको प्रकोपको मात्रा फराकिलो बन्दै गएको वातावरण क्षेत्रमा काम गर्ने संस्था लिरिकस तथा रूपान्तरण नेपालका सोहन प्रधान सुनाउँछन् ।

 

एक अध्ययनअनुसार महोत्तरीमा शीतलहरको कुरा गर्ने हो भने २० वर्षदेखिको औसत अधिकतम तापक्रम र सामान्य तापक्रममा ६ डिग्री सेन्टिग्रेडको फरक पाइएको छ । त्यसैले अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर जति बढ्दै जान्छ, त्यति नै शीतलहरको प्रकोप बढ्दै जाने विज्ञहरूको धारणा छ ।

 

यूएनडीपीको सन् २००१ देखि २०११ सम्मको तथ्यांकअनुसार तराईका जिल्लामध्ये महोत्तरी सबैभन्दा बढी प्रभावित मानिन्छ । सन् २०११ यता शीतलहरका कारण ज्यान गुमाउनेमा सबैभन्दा बढी महोत्तरीकै छन् । अघिल्लो वर्ष महोत्तरीमा शीतलहरका कारण तीन जनाको ज्यान गएको थियो भने हजारौँ संख्यामा प्रभावित बनेका थिए ।

 

खाडीतिरबाट पाकिस्तान, जम्मु कश्मिर, दिल्ली हुँदै आएको हावाको लप्का तराई क्षेत्रमा प्रवेश गर्ने र पश्चिमी हावाको प्रभाव जमेपछि चुरेबाट दक्षिणी भागमा शीतलहर देखिने गरेको छ ।