बाजुरा- बाजुराको बूढीनन्दा नगरपालिका-१ बस्ने ७१ वर्षीया सूर्जमती सुनारले नागरिकता हातमा परेपछि अचम्मसँगै अथाह खुसी प्रकट गरिन् । ७१ वर्षको उमेरसम्म पनि नेपाली नागरिकता नपाएको र नागरिकता बनाउनका लागि आवश्यक कागजत्रपत्र तथा सहयोग गर्ने कोही नहुँदा नागरिकताका लागि भौँतारिइरहेको अवस्थामा उनलाई नेपाली नागरिकता प्रदान गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले आफ्नै पहलमा उनलाई नागरिकता प्रदान गरेका हुन् । सूर्जमतीले नागरिकता नपाएको प्रमुख जिल्ला अधिकारी गैह्रेले थाहा पाएपछि उनलाई आवश्यक पर्ने कागजपत्र सबै तयार गर्न लगाएका थिए । गैह्रेले बूढीनन्दा नगरपालिका र वडामा सम्पर्क गरेर नागरिकताका लागि आवश्यक पर्ने कागजपत्र तयार गर्न लगाएको वडा अध्यक्ष नृप खत्रीले बताए ।
घर परिवारकी एक्ली सदस्य रहेकी सूर्जमतीले नागरिकता पाउनका लागि विभिन्न निकाय धाइरहेकी थिइन् । नागरिकता पाएपछि सूर्जमतीले सीडीओ गैरेलाई धन्यवाद दिइन् ।
माइतीघर जुम्लाको चन्दनाथ भएकी उनले सानै उमेरमा बाजुराका छक्के सुनारसँग विवाह गरेकी थिइन् । सूर्जमतीले दुई छोरा र एक छोरीलाई जन्म दिएकी भए पनि अहिले कुनै पनि सन्तान उनीसँग नरहेको आफन्तले बताए । छोरीको मृत्यु भइसकेको छ भने दुई छोरा सानै उमेरमा घरबाट हिँडेका र अहिलेसम्म कहाँ छन् भन्ने कुनै जानकारी नभएको उनले बताइन् ।
श्रीमान छक्के सुनारको चाँडै मृत्यु भयो । श्रीमानको मृत्यु भएको केही महिनामा दुवै छोरा घर बाट गएका हुन् । अरूलाई सोध्दा भारततिर लागेको भने पनि अहिलेसम्म सम्पर्कमा नआएको उनको भनाइ छ ।
घरका कोही सदस्य नभएपछि उनी लामो समयसम्म बर्दियामा बसिरहेकी थिइन् । पटकपटक नागरिकता बनाउनका लागि उनले माइती र पोइली गाउँ धाए पनि नागरिकता पाउन सकेकी थिइनन् ।
सूर्जमतीको नागरिकता नहुँदा राज्यका विभिन्न सेवा, सुविधाबाट बञ्चित रहेकी छन् । उनलाई नागरिकता कसरी प्राप्त हुन्छ भन्ने कुनै जानकारी थिएन । अहिले उनलाई नागरिकता प्रदान भएपछि राज्यका सेवा, सुविधाको पहलमा लाग्न सजिलो भएको छ ।