बाजुरा– बाजुराको बूढीनन्दा नगरपालिका वडा नम्बर १ की ७१ वर्षीया सुर्जमति सुनारले अहिलेसम्म नागरिकता पाउन सकेकी छैनन् । परिवारमा एक्ली सदस्य सुर्जमतिले नागरिकताका लागि विभिन्न निकायका ढोका धाए पनि कसैबाट दिलाउने पहल नभएको गुनासो पोखिन्
।
माइती घर जुम्लाको चन्दनाथ भएकी उनले सानै उमेरमा बाजुराका छक्के सुनारसँग गाँठो बाँधेकी थिइन् । सुर्जमति २ छोरा र १ छोरीका आमा हुन् । छोरीको मृत्यु भइसकेको छ भने २ छोरा सानै उमेरमा घरबाट गएकामा अहिलेसम्म कहाँ छन् भन्ने अत्तोपत्तो नभएको सुर्जमति बताउँछिन् ।
‘श्रीमान छक्के सुनारको चाँडै मृत्यु भयो । उनको मृत्यु भएको केही महिनामै दुवै छोरा घरबाट हिँडेका हुन् । अरूलाई सोध्दा भारततिर लागेको भन्छन् तर अहिलेसम्म सम्पर्कमा आएनन्’, सुर्जमति बिलौना गर्छिन् ।
घरका कोही सदस्य नभएपछि उनी लामो समय बर्दियामा बसिरहेकी थिइन् । पटक– पटक नागरिकता बनाउन माइती र पोइली गाउँ धाए पनि कसैले सहयोग नगरेको उनको गुनासो छ ।
७१ वर्षसम्म पनि नागरिकताविहीन हुनुपर्दा राज्यले प्रदान गर्ने सेवा–सुविधाबाट समेत वञ्चित हुनु परेको उनी सुनाउँछिन् । सुर्जमति अहिले नागरिकताकै लागि १ महिनादेखि विभिन्न निकाय धाइरहेकी छन् । तर, उनको नागरिकता बनाइदिन कसैले पहल गरेका छैनन् ।
वडा नम्बर १ का वडाध्यक्ष नृप खत्रीले भने, ‘सुर्जमतिको नागरिकता बनाउन प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइरहेको छ । त्यसका लागि कागजपत्र जुटाउँदै छौँ ।’