कञ्चनपुर - लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान समापनसँगै कञ्चनपुर प्रहरीले सार्वजनिक यातायातमा सादा पोसाकका प्रहरी खटाउन सुरु गरेको छ ।
गत १० मंसिरदेखि सुरु भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान समापनसँगै कञ्चनपुर प्रहरीले यस्तो निर्णय गरेको हो ।
लिंगका आधारमा गरिने भेदभाव र हिंसा न्यूनीकरणका लागि सञ्चालन भएको १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानका क्रममा जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयहरूले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेका थिए ।
अभियान समापनसँगै प्रहरीले सार्वजनिक सवारी साधन तथा सार्वजनिक ठाउँमा कडाइ गरेको छ ।
केन्द्रकै निर्देशनअनुसार ‘सेफ्टी पिन क्याम्पेन’ सुरु गरिएको हुँदा सार्वजनिक ठाउँमा हुने लैंगिक हिंसा न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइरहँदासमेत महिलामाथि विभिन्न किसिमका हिंसा भइरहेकाले यसको रोकथामका लागि सबै पक्षको सहयोग खाँचो रहेको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्ट सुनाउँछिन् ।