close

ललितपुर महानगरको वडा- १६ ले दियो कार्तिक नाचका लागि १० लाख

ललितपुर महानगरको वडा- १६ ले दियो कार्तिक नाचका लागि १० लाख

Trulli
ADVERTISEMENT

ललितपुर- ललितपुर महानगरपालिकाको वडा- १६ ले कार्तिक नाचको अक्षय कोषका लागि १० लाख रुपैयाँ प्रदान गरेको छ ।


वडा अध्यक्ष निर्मलरत्न शाक्यले शुक्रबार राती वराह नाच देखाउनुअघि कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।


सोही क्रममा वडाले सम्पूर्ण खर्च व्यहोरेर बनाइएको चाँदीको नयाँ मुकुट पनि हस्तान्तरण गरिएको थियो ।


वराहले लगाउने मुकुट धेरै पुरानो र जीर्ण भइसकेकाले नयाँ मुकुट तयार पारिएको हो । वडा- १६ कै सहयोगमा गत वर्ष नरसिंहले लगाउने मुकुट पनि फेरिएको थियो ।


सो अवसरमा वडा अध्यक्ष शाक्यले ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वको कार्तिक नाच चिरस्थायी होस् भनेर नयाँ मुकुट र १० लाख रुपैयाँ प्रदान गरिएको बताए ।


सांस्कृतिक र पर्यटकीय नगरी ललितपुरमा थुप्रै अर्मूत संस्कृति लोपोन्मुख रहेको चर्चा गर्दै वडा अध्यक्ष शाक्यले ती संस्कृतिको पुनः जीवन र चिरस्थायीका लागि स्थानीय तहले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।


वडा अध्यक्ष शाक्यले एक वर्षअघि गरेको प्रतिबद्धताअनुरूप रकम र मुकुट प्रदान गरेर संस्कृति संरक्षणमा लाग्नेहरूको उत्साह बढाइदिएको समितिका अध्यक्ष चित्रकारले बताए ।

 

‘संस्कृति संरक्षण गर्नु धेरै गाह्रो छ । यसका लागि सबैको साथ र सहयोग चाहिन्छ । संस्कृति संरक्षणमा वडाले उदाहरण पेस गरेको छ’, अध्यक्ष चित्रकारले भने ।


मुकुट हस्तान्तरणपछि बराले नयाँ मुकुट लगाएर वराह नाच प्रस्तुत गरेको थियो । वराहले लगाउने मुकुट सय वर्षपछि फेरिएको समितिका प्रचार संयोजक सञ्जय शर्मा राजोपाध्यायले बताए ।


शनिबार राती नरसिंह अवतार देखाउँदै कार्तिक नाच समापन गरिएको छ ।  कोरोनाका कारण यस वर्ष दुई दिन मात्र कार्तिक नाच देखाइएको हो ।