कास्की- कास्कीको माछापुच्छ्रे गाउँपालिका- ३ मा रहेको पीपलबोट जेष्ठ नागरिक समितिले टोल सफाइ सुरु गरेको छ । आफ्नो टोललाई प्लास्टिक र फोहोरमुक्त बनाउन समिति अघि सरेको हो ।
५० भन्दा बढी जेष्ठ नागरिकहरू प्रत्येक १५ दिनमा टोल र गाउँको सरसफाइमा निस्किन्छन् । महिनाको दुई दिन सधैँ सरसफाइ अभियान संचालन गरिने समितिका सचिव भुवनेश्वर पोखरेलले जानकारी दिए । उनका अनुसार टोलबाट विस्तारै गाउँपालिकालाई नै प्लास्टिकमुक्त बनाइनेछ ।
अहिले गाउँमा युवापुस्ता पातलो हुँदै गएपछि विकास निर्माणका काममा समेत जेष्ठ नागरिकहरू अग्रसर हुँदै आएका छन् । ‘गाउँको विकास गर्नै पर्यो । युवाहरू छैनन् । आएको पैसाले जसोतसो काम चलाइरहेका छौँ’, अध्यक्ष जयकृष्ण पोखरेल भन्छन्, ‘वृद्धवृद्धाले पनि देशलाई आवश्यक पर्दा सघाउन सक्छन् भन्ने उदाहरण हो यो ।’
उनले गाउँमा जेष्ठ नागरिक सेवा केन्द्र स्थापनाका लागि पहल भइरहेको बताए । ‘फुर्सद हुँदा टहलिने ठाउँ चाहिन्छ । बूढाबूढी भएपछि आफू जस्तै दौँतरी चाहियो’, उनी भन्छन्, ‘दिवा सेवा केन्द्र भयो भने सबै एकै ठाउँमा भेला हुने र मनका बह फुकाउन सजिलो हुन्थ्यो ।’ यसका लागि आवश्यक सहयोग गरिदिन पोखरेलले सबैलाई आग्रह पनि गरेका छन् ।