गुल्मी - नेपालका विभिन्न स्थानीय तहले पछिल्लो समय विदेशी राष्ट्रका सहर तथा नगरसँग भगिनी सम्बन्ध गाँस्ने लहर चलेको छ । त्यसलाई केही स्थानीय तहले पनि नयाँ अभ्यासका रुपमा अगाडि बढाएका छन् ।
अहिलेसम्म गुल्मीका ३ स्थानीय तहले स्वदेश तथा विदेशका स्थानीय तहसँग भगिनी सम्बन्ध गाँसेका छन् । रेसुंगा नगरपालिकाले बेलायतको हकिन्स नगरपरिषद्बीच भगिनी सम्बन्ध गाँसेको छ ।
हकिन्स नगरपरिषद् प्रमुख फिलिप मार्टिन दुई देशका नगरबीचको सम्बन्धले सामाजिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा सहयोग र भ्रमण आदानप्रदान हुने अपेक्षा गरिएको बताउँछन् ।
उनले सन् २०२१ मा रेसुंगाका नगरप्रमुख डिल्लीराज भुसालसहितको प्रतिनिधिमण्डललाई भ्रमणको निम्तोसमेत दिएका छन् । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नगरप्रमुख भुसालका तर्फबाट हकिन्स नगर परिषद् प्रमुख र उपप्रमुखलाई रेसुंगा नगरपालिकाको मैत्रीपूर्ण भम्रणको निमन्त्रणा दिएका छन् ।
धुर्कोट गाउँपालिकाले गण्डकी प्रदेशका २ स्थानीय तहसँग भगिनी स्थापना गरेको छ । ०७६ कात्तिकमा गण्डकी प्रदेशअन्तर्गत बाग्लुङको ताराखोला गाउँपालिका र प्रदेश ५ गुल्मीको धुर्कोट गाउँपालिकाबीच प्रमुखद्वय प्रकाश घर्ती मगर र भुपाल पोख्रेलले भगिनी सम्बन्ध स्थापनाको सम्झौता गरेका थिए ।
यस्तै, तनहुँको बन्दीपुर गाउँपालिका र धुर्कोट पालिकाबीच ०७६ माघ १ मा नगरप्रमुखद्वय पूर्णसिंह थापा र भुपाल पोख्रेलले भगिनी सम्बन्ध स्थापना गरेका थिए । यो सम्बन्धले कृषि र आन्तरिक पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पुग्ने धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेल बताउँछन् ।
गुल्मीको मुसिकोट नगरपालिका र रुपन्देहीको तिलोत्तमा्बीच पनि ०७६ फागुन ७ मा भगिनी सम्बन्ध कायम भएको छ । सामाजिक तथा आर्थिक विकास–निर्माणका असल अभ्यास र सामाजिक, सांस्कृतिक अनुभवको आदानप्रदान गर्ने गरी २ नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको हो ।
तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरे र मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाले भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
यो सम्बन्धले मुसिकोटको कृषि र तिलोत्तमाको औद्योगिक उत्पादन बजारीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको मुसिकोटा नगरप्रमुख सोमनाथ सापकोटाले बताए ।