कालिकोटको तिलागुफा नगरपालिका–१ स्थित नाग्मबजार पहिरोको उच्च जोखिममा छ । वर्षेनी नाग्मबजारका आधा दर्जन घरका भित्ता भत्किन्छन् । यो वर्ष मानवीय क्षति हुने गरी पहिरो गएकाले नगरवासी त्रसित बनेको स्थानीयवासी मदन उपाध्यायले बताए । उनले भने, ‘नाग्मबजार पहिरोबाट सुरक्षित छैन । जुनसुकै बेला बजारमा पहिरो पस्ने खतरा छ ।’ स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारले बजार जोगाउनमा ध्यान दिनुपर्ने स्थानीयवासी उपाध्यायले बताए ।
तीला नदीले बजारको तल्लो भाग वर्षेनी कटान गरीरहेको छ । त्यहाँका स्थानीयवासीका अनुसार फोहिरो र नदीको कटान नियन्त्रणमा कसैको ध्यान गएको छैन ।
बजारका स्थानीयवासी मानबहादुर बुढाका अनुसार पहिराले घर भत्काउने र मानिसले बनाउने क्रम निरन्तर जारी छ । बजारमा रहेका १२० घरका स्थानीय त्रासित रहेको बुढाले बताए । स्थानीय सरकारले भवन आचारसंहिताअनुसार घर बनाउन आग्रह गरे पनि यहाँका स्थानीयवासीले सो आचारसंहिता पालना गरेका छैनन् ।
तिलागुफा नगरपालिकाका मेयर रत्नबहादुर शाहीले भने, ‘पहिरोमा परी मृत्यु भएका परिवारको व्यवस्थापन र बजार व्यवस्थापन नगरपालिकाको पहिलो प्राथामिकता हो ।’ यही भदौ १३ गते सो बजारमा पहिरो जाँदा दश जानकोे मृत्यु भएको थियो ।