close

सिरहाका सात स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट 

सिरहाका सात स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट 

Trulli
ADVERTISEMENT

आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका सात  स्थानीय तहले चालू आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्योल बढेको छ ।


संघीय सरकारले प्रत्येक स्थानीय तहलाई पत्राचार गरी असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिए पनि सिरहाका १७ मध्ये सात स्थानीय तहले अझै बजेट ल्याउन नसकेका हुन् । 

 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थ मन्त्रालयको पत्रानुसार असार १० भित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेस गरिसक्न निर्देशन दिएको थियो । समयमै बजेट नआए संघीय सरकारबाट सम्बन्धित स्थानीय तहमा जाने अनुदान र राजस्व बाँडफाँटको प्रवद्र्धनमा समस्या पर्ने चेतावनीसहित अर्थ मन्त्रालयले पत्राचार गरेपछि १० वटा स्थानीय तहले मात्रै गाउँ तथा नगरसभामा बजेट पेस गरेका छन् ।

 

सिरहामा ८ नगरपालिका र ९ गाउँपालिका रहेकामा ५  गाउँपालिका र २ नगरपालिकाले अझै गाउँ तथा नगरसभामा बजेट पेस गर्न नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाका प्रमुख राधेश्याम गिरीले जानकारी दिए । 

 

सिरहाको औरही, नवराजपुर, लक्ष्मीपुर पतारी, अर्नमा र बरियारपट्टी गाउँपालिकाले गाउँसभा गर्न नसकेको प्रमुख गिरीले बताए ।


उनका अनुसार कल्याणपुर र मिर्चैया नगरपालिकाले पनि नगरसभामा बजेट पेस गर्न सकेका छैनन् । सिरहाका विभिन्न स्थानीय तहमा देखिएको आन्तरिक विवाद, जनप्रतिनिधिहरूबीचको असमझदारीलगायत कारणले समयमा नगरसभा हुन नसकेको प्रमुख गिरीको भनाइ छ ।