close

खोटेहाङको राजस्व संकलन ९३ प्रतिशत

खोटेहाङको राजस्व संकलन ९३ प्रतिशत

Trulli
ADVERTISEMENT

कोरोना संक्रमणको असरका बीच पनि खोटाङको खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष ०७६/०७७ मा आन्तरिक राजस्व असुली लक्ष्यको ९३ प्रतिशत प्रगति हासिल गरेको छ ।


आव ०७६/७७ का लागि २९ लाख ५९ हजार ३ सय ५० रुपैयाँ राजस्व प्रक्षेपण गरिएकामा २७ लाख ४५ हजार ७ सय २१ रुपैयाँ राजस्व संकलन भएको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिकाका ९ वटै वडा कार्यालयबाट १४ लाख ९३ हजार ४ सय ८६ रुपैयाँ र गाउँपालिकाको कार्यालयबाट १२ लाख ५२ हजार २ सय ३५ रुपैयाँ संकलन भएको राजस्व शाखा प्रमुख योगेश श्रेष्ठले बताए । 

 

आव ०७५/७६ मा गाउँपालिकाले प्रक्षेपण गरेअनुशार शतप्रतिशत १६ लाख ९ हजार ५ सय ५० रुपैयाँ राजस्व संकलन गर्न सफल भएको थियो । 
गाउँपालिकाले मालपोत, सम्पत्ति मूल्यांकन कर, घर बहाल कर, सवारी साधन कर, सेवाशुल्क, टेन्डर शुल्क, परीक्षा शुल्क, घरजग्गा शुल्क, रजिस्ट्रेसन शुल्क, गिटी–बालुवा शुल्कलगायत शीर्षकबाट राजस्व संकलन गरेको हो । 


चालू आर्थिक वर्ष गत आवको तुलनामा करिब १० प्रतिशतले वृद्धि गरी ३३ लाख बराबरको राजस्व संकलन हुने अनुमान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिए ।

 

वडा तथा गाउँपालिकाको कार्यालयबाट संकलित राजस्व हरेक महिनाको ३ गते राजस्व खातामा अनिवार्य जम्मा गर्ने व्यवस्था रहेको गाउँपालिकाले जनाएको छ । 


स्थानीय राजस्व परामर्श समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष कविता राईले कोभिड–१९ ले सिर्जना गरेको विषम परिस्थितिमा पनि लक्ष्यको ९३ प्रतिशत राजस्व हासिल हुनु भनेको राजस्वप्रतिको योजना कार्यान्वयन भएको देखिएको दाबी गरिन् ।

 

‘कोभिड–१९ को महामारीका बेला पनि यति धेरै राजस्व संकलन हुनु भनेको ठूलो सफलता हो’, उपाध्यक्ष राईले भनिन्, ‘यस आर्थिक वर्ष तोकिएको लक्ष्य सहजै पूरा हुने विश्वास छौं ।’


राजस्वको स्रोत, दायरा र दर स्थितिको विश्लेषण गरी आगामी आर्थिक वर्ष प्राप्त हुन सक्ने राजस्वको अनुमान गर्ने, स्थानीय उद्योग तथा व्यवसाय प्रवर्धन र रोजगारी सिर्जनामा योगदान दिने कर नीतिको सम्बन्धमा परामर्श दिने र राजस्व प्रशासन सुधारका लागि आवश्यक परामर्श दिन स्थानीय तहमा स्थानीय परामर्श समिति रहने प्रावधान छ ।