जुम्ला - कर्णाली देउडा समाज जुम्लाले यस क्षेत्रको पहिचान मानिने देउडा संस्कृति बचाउन संरक्षण अभियान सुरु गरेको छ । जुम्लालगायत समग्र कर्णाली प्रदेशको कला–संस्कृति बचाएर देउडाको महत्वलाई देश–विदेशमा चिनाउने लक्ष्य समाजको रहेको छ ।
त्यसका लागि समाजले दूरदराजमा लुकेर रहेका प्रतिभा खोजी गर्ने र जुम्लाका अग्रज कलाकारको सम्मान गरी नयाँ पुस्ताका कलाकार जन्माउन अभियान चलाउनेछ ।
कर्णाली देउडा समाज जुम्लाले देउडा गीतको संरक्षण गर्न प्रत्येक महिनाको १ गते देउडा प्रतियोगिता गर्दै आएको थिए । तर, कोरोना महामारीका कारण केही महिनादेखि देउडा प्रतियोगिता रोकिएको समाजका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।
सुदूरपश्चिमीहरूले आफ्नो कलाको पहिचान गरिरहेका बेला जुम्ला खस भाषाको उद्गमस्थल र कला–संस्कृतिले समृद्ध भए पनि देउडा संस्कृति लोप हुने अवस्थामा पुगेको धिताल सुनाउँछन् । ‘जुम्लाको कला–संस्कृति बचाउन कुनै एक व्यक्तिले मात्र सम्भव छैन । यसका लागि सबैको हातेमालो जरुरी छ,’ धितालले भने । देउडा बचाउन केन्द्रदेखि स्थानीय सरकारसम्मको सहयोग अनिवार्य रहेको उनी औंल्याउँछन् ।
कर्णाली देउडा समाज जुम्लाले आयोजना गरेको पहिलो साधारणसभा अवसरमा पूर्वराज्यमन्त्री गोमा कुँवरले समृद्ध देउडा संस्कृति बचाउन केन्द्र सरकारबाटै पहल हुनुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘संस्कृति रहे मात्र हामी रहन्छौं । कर्णालीले आफ्नो पहिचानका लागि देउडा गीतलाई मनोरन्जनका लागि मात्रै नभई पर्वको रुपमा स्थापित गर्नुपर्छ । त्यसो भए मात्र पहिचान जोगिन्छ ।’
कर्णाली देउडा समाजका अध्यक्ष धितालले देउडा संस्कृति सिंगो कर्णालीबासीको पहिचान भएकाले यसलाई बचाइराख्न पनि सबैको सहयोग अपरिहार्य हुने बताए । उनले भने, ‘कर्णाली देउडा समाजको कार्यसमिति १३ सदस्यीय छ ।
तर, यो समितिले मात्रै केही गर्न सक्दैन । सबैको सहयोग र सहकार्य भए मात्र देउडा कलाकारको प्रतिभालाई बाहिर ल्याउन सक्छ ।’