इलाम– पञ्चकन्या हाइड्रो पावर कम्पनीले सुरूङ मार्गको व्यस्थापनमा चासो नदिदा थप जोखिम बढ्दै गएको छ । सन्दकपुर गाउँपालिका–४ मा रहेको हाइड्रो पावरको भासिएको क्षेत्र मर्मतमा चासो नदेखाउँदा अहिले स्थानीयवासी त्रासमा दिन कटाइरहेका छन् ।
स्थानीय विद्युत विपद सरोकार समितिले सुरूङसँगै व्यवस्थापन गर्न दिएको पाँच दिने समय सीमा सकिन अब एक दिन मात्र बाँकी रहदासम्म सम्बन्धित पक्षले चासो नदेखाउँदा जोखिम बढ्दै गएको जनाएको छ ।
चार दिन बित्दा पनि रोकथामको काम सम्बन्धित पक्षबाट नभएको बताउँदै व्यवस्थापनका विषयमा कुनैपनि सूचना नआएको समितिका सदस्य तथा प्रभावित क्षेत्रका स्थानीय ढालबहादुर गुरूङले बताए ।
सुरूङ मार्गको तल्लो क्षेत्रमा पहिरो गइरहेको छ । केही क्षेत्रमा ढिस्को झरेको छ । थप जमिन समेत भासिएकाले जोखिम बढ्दै गएको छ । जोखिम क्षेत्रका स्थानीयवासीमा कतिखेर के हुने हो भन्ने त्रासमा दिन कटाइरहेको वडा अध्यक्ष तथा प्रभावित क्षेत्रका वासिन्दा बर्तमान गुरूङले बताए ।
समयमै हाइड्रोका बिग्रिएको क्षेत्र मर्मत नभए स्थानीय १ सय ४७ घरपरिवारको दुई सय रोपनी भन्दा बढी जमिन बगेर जानेछ । सात सय बढी जनसंख्याको विचल्ली हुने स्थानीयको भनाई छ ।
गाउँपालिका अध्यक्ष राईले चुहिएको पेनस्टक पाइप केही भएर फूट्यो भने जति खेरपनि ठूलो धनजनको क्षति हुने बताउँदै, पैसा कमाउँने हाइड्रो पावर कम्पनीलाई धनजनको सुरक्षाको ग्यारेन्टि गर्दै चाडै मर्मत गर्न आग्रह गरेको जनाएका छन् ।