close

वेबसाइटमै हेर्न सकिन्छ थाहा नगरको दैनिक आम्दानी र खर्च

वेबसाइटमै हेर्न सकिन्छ थाहा नगरको दैनिक आम्दानी र खर्च

Trulli
ADVERTISEMENT

मकवानपुर - थाहा नगरले प्रत्येकदिन आफ्नै वेबसाइट मार्फत खर्च र आम्दानीको विवरण सार्वजनिक गर्दै आएको छ । थाहा अभियन्ता रुपचन्द्र विष्टले पटक–पटक प्रयोग गरिरहने शब्द थाहाबारे नसुन्ने कमै होलान् । उनै अभियन्ताको शब्दबाट बनेको मकवानपुरको थाहा नगरपालिकाले जानकारी पाउने जनताको अधिकारलाई व्यवहारमै उतारेको छ ।


थाहा नगरपालिकाले कोरोना संक्रमण रोक्न ४० लाख रुपैयाँ छुट्याएको नगरप्रमुख लवशेर विष्टले बताए । कोरोना संक्रमण नियन्त्रणका लागि बेलाबेला दाताहरूले पनि नगद र स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको उनले जानकारी दिए । 


नगरभित्र हुने गरेका विकास निर्माणमा सूक्ष्म तथ्यांक राख्न सुरु गरिएकोले नगरपालिका प्रति जनताको विश्वास बढेको नगरप्रमुख विष्टको दाबी छ । आपूmले सानातिना खर्चको पनि स्पष्ट हिसाब राख्न नगरका सबै वडालाई सर्कुलर नै गरेको विष्ट सुनाउँछन् । उनी भन्छन्, ‘विपद्का बेलामौका छोपेर लाभ लिनेहरू पनि हुन्छन् । त्यसैले हामी यस प्रति सचेत छौं ।’


नगरपालिकाले हरेकदिन कोषको मौज्दात रकम, प्राप्त  रकम र खर्च भएको शीर्षकसहित सार्वजनिक गर्दै आएको विष्टले बताए । थाहा नगरले प्रत्येक दिन आफ्नै वेबसाइट मार्फत विवरण सार्वजनिक गर्ने गरेको छ । प्रत्येक दिनको हिसाब स्थानीय सञ्चार माध्यमलाई पनि पठाउने गरेको छ । 


नगरप्रमुख विष्ट भन्छन्, ‘महामारीका बेला जनताले सेवा, सुरक्षा र राहत चाहन्छन्, । उनै जनताका लागि काम गर्ने हामी जनप्रतिनिधि पारदर्शी हुनुपर्छ । त्यसैले हामी यसप्रति बढी सजग छौं ।’


नगरपालिकाभित्र कोरोना नियन्त्रण र विकास निर्माणका योजनाहरूको अनुगमन गर्न सबैजन प्रतिनिधि दिनरात खटिँदै आएको दाबी विष्टको छ । फिल्डमा खटिने जनप्रतिनिधिले तलब भत्ता नपनाए पनि जनताको काम गर्दा खुसी रहेको उनको भनाइ छ ।


नगरपालिकामा बाढीले क्षति पुर्याएपछि सबै जनप्रतिनिधिले पाउने बैठक तथा भ्रमण भत्ता बापतको करिब १० लाख रुपैयाँ क्षतिग्रस्त क्षेत्रमा ग्याविनवालका लागि तारजाली किन्न सहयोग गरेको विष्टले जानकारी दिए ।

 

थाहाको नमुना क्वारेन्टाइन 


कोरोना संक्रमणका लागि देशैभरका नगरपालिकाहरूले क्वारेनटाइन निर्माण गरिरहेका छन् । तर, थाहानगरले बनाएको क्वारेन्टाइन नमुना मध्येमा पर्ने दाबी नगरप्रमुख विष्टको छ ।


उनका अनुसार थाहानगरले मुटुको धड्कन, ज्वरो, प्रेसर, सुगर देखाउने डिजिटल मोनिटर सहितको ५ वटा क्वारेन्टाइन कक्षतयारी अवस्थामा राखेको छ ।

नगरप्रमुख विष्ट भन्छन्, ‘क्वारेन्टाइन कक्ष मान्छे थुन्ने ठाउँ होइन, अत्याधुनिक र सुविधा सम्पन्न हुनुपर्छ । हामीले बनाएको क्वारेन्टाइन कक्षमा बिरामी र चिकित्सकलाई खाना, नास्ता र चियाबनाउन छुट्टै एकजना सहयोगी पनि व्यवस्था गरेका छौं ।’

 

एक गाउँ, एक वडा सदस्य


थाहानगरका प्रत्येक वडा सदस्यलाई गाउँ जिम्मा दिइएको छ । ती गाउँमा आउने नयाँ मानिस वाविदेशबाट आउने मानिसलाई पहिले परामर्श दिइने गरेको छ । यसपछि अवस्थाअनुसार क्वारेन्टाइनमा लैजानुपर्ने भए वडा सदस्यले सिफारिस गर्छन् ।


घरमै बस्नुपर्ने अवस्थाका देखिए १ जना डाक्टर र २ जना नर्सको टोलीले रेखदेख गर्छ । यसरी पहिचान भएका ७४ जना नियमित सम्पर्कमा रहेको नगरप्रमुख विष्टले बताए ।

 

कोरोना नियन्त्रण गर्न संयन्त्र


थाहा नगरले कोरोना नियन्त्रणका गतिविधिमा समन्वय गर्न र अभिलेख राख्नछुट्टै ५ सदस्यीय सचिवालय गठन गरेको छ । दिनभरका सबै सूचना बेलुकी ५ बजे सचिवालयमा आइपुग्छन् । नगरभरका९  वटै स्वास्थ्य संस्थाका गतिविधि पनि त्यहाँ आइपुग्छन् ।


कोरोना संक्रमितको अवस्था,खाद्यान्नको अवस्था, जनताका गुनासा सबै सचिवालयमै आउने व्यवस्था मिलाइएको नगरप्रमुख विष्टले बताए । उनले भने, ‘समीक्षा भर्खरै सकियो । हामीले पहिचान गरेका ७४ जनामध्ये कसैमा पनि कोरोनाको लक्षण देखिएन ।’


दैनिक रुपमा प्राप्त तथ्यांक र समीक्षासहितको प्रतिवेदन नगरपालिकामा फाइलिङ नभई केन्द्र सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, स्वास्थ्यविभाग, स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री कार्यालय, सञ्चारकर्मी सबैलाई पठाउने गरेको विष्टको भनाइ छ । 


दैनिक रुपमा समस्या, अवसर र जोखिम समीक्षा गर्दै अगाडि बढ्ने हो भने जस्तोसुकै अप्ठेरो परिस्थितिबाट बाहिर निस्कने सकिने विष्टको अनुभव छ ।