काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७६.६५ बिन्दुले ओरालो लागेको छ । लगातार ओरालो लाग्दै आएको नेप्सेले साताको अन्तिम दिन पनि थामिएन ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबारको ओरालो यात्रापछि नेप्से २ हजार ८१२.३८ मा ओर्लिएको छ । झन्डै ३ हजार ३०० बिन्दुमा पुगेको नेप्से परिसूचक पछिल्ला दिनमा लगातार घट्दै जाँदा २ हजार ८०० बिन्दुमा झरेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.७३ अंकले घटेर ५२५.७८ मा सीमित भएको छ ।
नेप्से ओरालो लागे पनि कारोबार रकम भने बुधबारको तुलनामा केही बढेको छ । बुधबार कारोबार रकम ५ अर्बको हाराहारीमा थियो । आज कूल २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर ९ अर्ब ३ करोड ३९ लाख ६२३ मा कारोबार भयो । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ ४१.१४, व्यापार ११०.१३, होटल तथा पर्यटन १२५.८३, विकास बैंक १९७.२२, जलविद्युत् १३७.७९, वित्त १३९.४४, निर्जीवन बीमा ३८३.७, उत्पादन १३७.३९, अन्य ३१.१६, लघुवित्त १७१.७७, जीवन बीमा ४५२.५९, सामूहिक लगानी कोष ०.२४ र लगानी २.३९ अंकले घटेको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको ३८ करोड ६० लाख ४३ हजार ५०८ बराबरको कारोबार भयो । यस्तै रिडी हाइड्रोपावर २८ करोड ३८ लाख ७४ हजार ४५५, अपि पावर कम्पनी २५ करोड ५८ लाख ७८ लाख २०९, युनाइटेड मोदी हाइड्रोपावर २२ करोड ९८ लाख ५३ हजार ४७१ र हिमालयन डिस्टिलरी २० करोड ४३ लाख ९० हजार ५०७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ३५ अर्ब ७४ करोड १८ लाख ८८ हजार ७२२ रुपैयाँ बराबर भएको छ ।
मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै आइसिएफसी फाइनान्सको डिवेञ्चर १.२३, सानिमा बैंकको ऋणपत्रका लगानीकर्ताले ०.७७ प्रतिशतले कमाए । यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक ८.१७, श्री इन्भेस्टमेन्ट फाइनान्स ७.१८, आइसिएफसी फाइनान्स ७.०३, लिवर्टी इनर्जी ६.७४ र चन्द्रागिरि हिल्सका लगानीकर्ताले ६.५६ प्रतिशतले गुमाए ।