close

कोशी प्रदेशको पुनः नामांकन गर्न स्थानीय तहमा तालाबन्दी

कोशी प्रदेशको पुनः नामांकन गर्न स्थानीय तहमा तालाबन्दी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ । ताप्लेजुङका फुङलुङ नगरपालिका र फताङलुङ गाउँपालिकामा तालाबन्दी गरेको छ । कोशी प्रदेश पुनःनामाङ्कन संयुक्त समितिले मंगलबार बिहानदेखि दुई पालिकाको प्रवेशद्धारमा तालाबन्दी गरेको हो । 

समितिले कोशी प्रदेश नामांकन खारेज गरी पहिचानको आधारमा प्रदेशको पुनः नामाकरण, आन्दोलनको क्रममा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा लगायतको माग गर्दै पालिकामा तालाबन्दी लगाएको जनाएको छ । 

पालिकाको प्रवेशद्धारमा तालाबन्दी लगाएकोले गर्दा स्थानीय बासिन्दा दैनिक सेवाबाट बञ्चित भएको पालिकाले जनाएको छ । फुङलुङ नगरपालिकाका नगरप्रमुख अमीर मादेनका अनुसार मंगलबार बिहान ८ बजेदेखि नै प्रवेशद्धारमा तालाबन्दी गरेको हो । 

टेलिफोनमार्फत पालिकाखबरसँग सम्पर्कमा आएका मादेनले भने, 'कर्मचारी कार्यालयमा पुग्नु अगावै समितिले तालाबन्दी गरेको रहेछ । गेटमै तालाबन्दी गरेको कारणले हामी कोही पनि कार्यालय प्रवेश गर्न पाएका छैनौं ।'


उनले समितिले चार दिन आन्दोलन गर्ने जानकारी दिएको बताए । पालिकाको प्रवेशद्धारमै तालाबन्दी भएकोले गर्दा सेवा प्रभावित भएको उनले सुनाए । उनले भने, 'यहाँको वडा कार्यालयमा पनि तालाबन्दी गरेको छ । जनताको सेवाको लागि सामान निकालेर भए पनि सेवा दिन योजना बनाएका छौँ ।' 

आन्दोलन विपरितमा गर्ई पालिकाको तालाबन्दी खोलेर सेवा दिएमा समितिले सोको प्रतिकार गर्न सक्ने अवस्था आउन सक्ने भएकाले आफूहरु मौन बसेको नगरप्रमुख मादेनले बताए । 

'चावी उहाँहरुसँग छ । चावी खोलेर सेवा दिएमा पालिकाको गाडी तोडफोड गर्न सक्छन्,' उनले भने, 'अन्य क्षति भोग्नुभन्दा केही दिन सेवा नदिनु राम्रो लाग्यो ।'  अत्यावश्यक सेवालाई आवश्यकताको आधारमा दिन योजना बनाएको उनले बताए । 


फताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बुले समितिले विभिन्न माग राखेर पालिकामा तालाबन्दी गरेको जनाएका छन् । 'पालिका र वडा कार्यालय बन्द गर्ने लिखित पत्राचार आएको छ,' उनले भने, 'सो अनुसार समितिले विभिन्न माग गरेर पालिकामा तालाबन्दी गरेको हो ।' 

उनले समितिको माग स्थानीय सरकारले नभई केन्द्रीय सरकारले पुरा गर्नुपर्ने बताए । 'पालिकामा तालाबन्दी गरेर उहाँहरुको माग पुरा हुँदैन । माग पुरा गर्नको लागि केन्द्रीय सरकार वा सरोकारवाला निकायलाई झक्झक्याउनु पर्छ,' उनले भने ।  

उनले माग पुरा गर्नको लागि परम्परागत शैलीमा पालिकाको बन्द गरेको बताए । 'पहिले पहिले माग पुरा गर्नको लागि विद्यालयमा तालाबन्दी या बन्द गर्ने संस्कृति थियो । अहिले पनि त्यहीँ संस्कृति हो,' उनले भने, 'पालिकामा भन्दा पनि सम्बन्धित निकाय केन्द्रीत भई क्रियाकलाप गर्नुपर्छ जस्तो लाग्छ ।' 

उनले पालिकामा तालाबन्दी भएपनि जनतालाई सेवा दिने विश्वास व्यक्त गरेका छन् । 'तालाबन्दी केही दिन मात्रै भनेको छ । त्यही पनि केही समयभित्रै खोल्न सक्छ,' उनले भने, 'आवश्यताको आधारमा प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर सेवा वितरण गर्ने छौँ ' 

समितिले विभिन्न माग राख्दै चैत १४ देखि १७ गतेसम्म प्रदेशभरीका स्थानीय तह तथा वडा कार्यालयमा तालाबन्दी गर्ने जनाएको छ ।  सो समय पालिकाअन्तर्गतको कामकाज ठप्प पार्ने समितिले जनाएको छ । साथै, प्रहरीसँगको झडपको क्रममा घाइते भएका पदम लिम्बू लाजेहाडलाई सहिद घोषणा गर्नुपर्ने  माग राखेका  छन् ।