म्याग्दी । म्याग्दीमा गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई दिनका लागि रु १ दान अभियान सुरु भएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन म्याग्दीले गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री तथा मन्त्रीहरुको स्वर्गीय बाबा आमाको नाममा ट्रष्टदेखि स्मृति पार्क बनाउनका लागि बजेट विनियोजन गरेको विरोध गर्दै राज्यकोषबाट नभै जनस्तरबाट नै रु १ संकलन गरी बाबा आमा र आफन्तको नाममा अक्षयकोष स्थापना, ट्रष्ट र स्मृति पार्क बनाउनु भनि सर्वसाधारणसँग रु १ दान मागी मुख्यमन्त्री र मन्त्रीहरू बुझाउने अभियान सुरु गरेको हो ।
सोमबार दिउँसो बेनीको वीरेन्द्र चोकमा एक कार्यक्रमको आयोजना गरि रकम संकलन सुरु भएको छ । जनताको करबाट उठाएको रकम जनताको काममा खर्च गर्नुको साटो मुख्य मन्त्री तथा अन्य मन्त्रीहरुको बाबा आमाको स्मृति कोषको लागि विनियोजन गरि सरकारी रकमको दुरुपयोग गरेको प्रति गण्डकी प्रदेश सरकारको विरोध स्वरुप जनस्तरबाट १ रुपैयाँ संकलन गरि पठाउनका लागि अभियान सुरु गरेको अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज सुवास विश्वकर्माले बताए।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष बालकृष्ण सुवेदी, लगायत स्थानीयहरुले रकम दान गरेका छन् । अखिलका जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरूले स्थानीयहरु समक्ष दानको अनुरोध गरेका थिए । मुख्य मन्त्री, तथा अन्य मन्त्रीको फोटो टाँसिएको दान पेटिका बनाई अखिलले रकम सहयोग मागेको छ ।
गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलका स्वर्गीय पिता गोवर्द्धन शर्माको नाममा स्मृति कोष बनाउन ५० लाख, शिक्षा, संस्कृति तथा विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठका स्वर्गीय मातापिताको नाममा ट्रस्ट बनाउन १ करोड रुपैयाँ लगायतका लागि रकम विनियोजन गरेको थियो ।