close

प्रदेश २ को नाम ‘मधेस’ राख्नेमा तीन दल सहमत 

प्रदेश २ को नाम ‘मधेस’ राख्नेमा तीन दल सहमत 

Trulli
ADVERTISEMENT

जनकपुर– प्रदेश २ प्रदेश सभाको बिहीबार आठौ अधिवेशनको दोस्रो बैठकमा प्रदेश नामाकरणका विषयमा तीन दल एकमत देखिएको छ । तीनै दल प्रदेशको नाम ‘मधेस’ राख्नेमा एकमत देखिएका हुन ।

 

बिहीबार बसेको प्रदेश सभा बैठकले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ बहुमतले पारित गरेको छ । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका सभा सदस्य परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ अस्वीकार गर्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावउपर छलफलपछि सभा सदस्य सामाजिक विकासमन्त्री नवलकिशोर साह सुडीले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश अस्वीकार गर्ने प्रस्तावमाथि उठेको प्रश्नको जवाफ दिँदै सो अध्यादेश स्वीकृतको लागि प्रस्ताव पेश गरेका थिए । प्रस्ताव बहुमतले पारित भएको घोषणा उपसभामुख उपमा देवले गरिन् । 

 

जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेशको नाम मधेस राख्नुपर्ने प्रस्ताव गरेका छन् । प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, माओवादी केन्द्रका नेता आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम मधेस प्रस्ताव गर्नुभएको हो । सो प्रस्तावमा विपक्षी दल लोसपाका सभा सदस्य रानीकुमारी तिवारीले पनि समर्थन जनाए ।

 

सभाको बैठकमा नेपाली कांग्रेसका सभा सदस्य शिवचन्द्र चौधरीले प्रदेशको नाम मिथिला–भोजपुरा राख्नुपर्ने पुरानै प्रस्ताव गरे । कांग्रेसकै प्रदेश सांसद राजेश्वरप्रसाद साहले प्रदेशको नाम मध्य–मधेस राख्नुपर्ने बताए । नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सांसद प्रमोदकुमार यादवले प्रदेशको नाम जानकी राख्नुपर्ने सुझाव दिए ।

 

यस्तै, बैठकमा बोल्ने अधिकांश सभा सदस्यहरुले जनकपुरधामलाई प्रदेशको स्थायी राजधानी बनाउनुपर्नेमा जोड दिए । यता कांग्रेस सभा सदस्य राजेश्वर साहले वीरगञ्जलाई राजधानी बनाउनुपर्ने बताउनुभयो । प्रदेश सभाको बैठक पुस ९ गते १ बजेसम्मको लागि स्थगित गरिएको छ ।