कर्णाली– मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनार्थ प्रस्ताव टेबुल गरेका छन् । निर्धारित कार्यसूचीअनुसार मंगलबार बसेको प्रदेशसभाको बैठकमा उनले उक्त प्रस्ताव टेबुल गरेका हुन् । उक्त प्रस्तावमाथि बुधबार छलफल हुनेछ । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिइसक्नुपर्छ । कांग्रेस संसदीय दलका नेता शाही मुख्यमन्त्री पदमा नियुक्त भएको पर्सी बिहीबार ३० दिन पुग्दैछ ।
बैठकको प्रारम्भमा सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशका मुख्यमन्त्रीको नियुक्ति, मन्त्रालयको कार्यविभाजन र प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाएका थिए । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रदेशसभा सदस्य अनुपस्थित रहेकाले मुख्यमन्त्री शाहीले प्रस्तुत गरेको उक्त प्रस्तावमाथि छलफल सुरु नभएको हो । एमालेका सदस्य पार्टीको दशौँ महाधिवेशनका लागि चितवनमा छन् । कांग्रेस प्रमुख सचेतक हिमबहादुर शाहीले सरकारका तर्फबाट बुधबारको बैठकमा एमालेलाई उपस्थित हुन आग्रह गरिएको र उनीहरुको सहभागिता हुने आफूहरुको अपेक्षा रहेको बताए ।
विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री शाहीको योजना छ । हाल मन्त्रिपरिषद्मा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट एक मन्त्री हुनुहुन्छ । यसैबीच नेकपा (माओवादी केन्द्र) संसदीय दलको आजै बसेको बैठकले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।