close

बाढीपहिरोबाट मृत्यु भएकालाई २ लाख दिने कर्णाली प्रदेश सरकारको घोषणा

बाढीपहिरोबाट मृत्यु भएकालाई २ लाख दिने कर्णाली प्रदेश सरकारको घोषणा

Trulli
ADVERTISEMENT

सुर्खेत–कर्णाली प्रदेश सरकारले बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई २ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । प्रदेश सरकारको विपद् व्यवस्थापन परिषद् बैठकले बाढीपहिरोलगायत विपद्मा परेर मृत्यु भएका परिवारका सदस्यलाई दुर्घटना बिमाबापत २ लाख रुपैयाँ दिने घोषणा गरेको हो ।

 

बेमौसमी वर्षासँगै आएको बाढीपहिरोबाट कर्णालीमा ८ जनाको मृत्यु हुनुका साथै ४ जना घाइते भएका थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सामूहिक विपद् दुर्घटना बिमा अन्तर्गत राहत रकम उपलब्ध गराउने निर्णय भएको हो ।


बैठकमा मुख्यमन्त्री शाहीले अप्रत्यासित बेमौसीम वर्षाबाट अवरुद्ध भएका सडक, सिँचाइ, खानेपानी र विद्युत् पूर्वाधार मर्मत गरी तत्काल सञ्चालन गर्ने निर्णय गरिएको बताए ।  पूर्ण रूपमा क्षति भएका घरको विवरण संकलन गरी संघीय सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनःस्थापना गरिने उनको भनाइ छ ।

 

प्रदेशका प्रमुख सचिव राजकुमार श्रेष्ठले बैठकमा किसानलाई अन्नबालीको क्षतिपूर्ति व्यवस्था गर्ने निर्णय भएको जानकारी दिए । बेमौसमी वर्षाबाट अन्नबालीमा भएको क्षतिको यकिन विवरण संकलन गरी किसानलाई क्षतिपूर्ति व्यवस्थापन गर्ने निर्णय भएको उनले बताए । उनका अनुसार विपद्मा परेर घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।