close

विपद्बाट सुदूरपश्चिममा १९ को मृत्यु

विपद्बाट सुदूरपश्चिममा १९ को मृत्यु

Trulli
ADVERTISEMENT

सुदूरपश्चिम– अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी सुदूरपश्चिम प्रदेशमा बुधबार साँझसम्म १९ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बुधबार साँझ उपलब्ध गराएको क्षतिको विवरणअनुसार बाढी, पहिरो, डुबानमा परी डोटीमा ११, बैतडीमा चार, डडेलधुरामा दुई, बझाङ र कैलालीमा एकरएक जनाको मृत्यु भएको छ ।


  
यस्तै विपद्मा परी ११ जना घाइते भएका छन् । डोटीमा छ, डडेलधुरामा दुई बैतडीमा दुई र बझाङमा एक जना घाइते भएका छन् । विपद्मा परी मृत्यु हुनेमध्ये पछिल्लो पटक सनाखत हुनेमा डोटीमा ५८ वर्षीय हिरुवा लुहार र ७५ वर्षीय देव ढुङ्गेल छन् । यस्तै बझाङका ७३ वर्षीय धनराज जोशी र कैलालीका ८६ वर्षीय करविरे ढोलीको पनि मृत्यु भएको पुष्टि भएको छ । घाइते हुने थप व्यक्तिमा डोटीका रमेश लुहार, भीम लुहार, करी ढुङ्गेल, बैतडीका सरस्वती विष्ट, माया विष्ट र बझाङका पदमादेवि जोशी छन् ।


 
बझाङको थलरा गाउँपालिका–४ मा गएको पहिरामा पुरिएर बेपत्ता भएका २३ जनाको खोजीकार्य जारी छ । बेपत्ताको खोजीकार्यका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत ४० जनाको टोली घटनास्थलमा खटिएकोे छ ।नदीमा बगेर बेपत्ता भएका कैलालीका दुई र डोटीका एक जनाको खोजीकार्य भइरहेको छ । माछा मार्न कैलालीको कर्णाली नदीतर्फ गएर बेपत्ता भएका तीन जनाको आज सकुशल उद्धार गरिएको छ । पहिराका कारण बझाङमा १२, डोटीमा तीन र डडेलधुरामा दुई गरी १७ घरमा पूर्णरुपमा क्षति पुगेको छ । पहिराका कारण अवरुद्ध भएका विभिन्न सडकको पहिरो पञ्छाइ यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।


  
विपद्सँगै प्रदेशका पहाडी कतिपय जिल्लामा अवरुद्ध बनेको फोन र इन्टरनेट सेवा आजदेखि आंशिकरुपमा सञ्चालन भएको छ । यता कैलालीको कर्णाली र मोहना नदीमा आएको बाढी डुबानमा परेका टीकापुर नगरपालिका–५ र ८ नं वडाका ८० घरका सदस्यलाई सकुशल नजिकको स्कुलमा सारिएको छ । कर्णाली र महाकाली नदीमा मङ्गलबार बढेको पानीको बहाव आज केही घटेको छ ।


 
कैलालीको ठूलीगाड नदीको दोभानमा दुई दिनदेखि फसेका दुई जना वर्षा रोकिएसँगै सुरक्षित रहेको जनाइएको छ । उक्त स्थानमा उद्धारका लागि आज गएको नेपाली सेनाको हेलिकप्टर उद्धार गर्नु नपर्ने भएपछि फिर्ता भएको थियो । वर्षापछि पुगेको धनजनको क्षतिको थप विवरण आउन बाँकी छ । आज वर्षा रोकिएपछि अपराह्नबाट घाम लागेको थियो ।