close

प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चित

प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चित

Trulli
ADVERTISEMENT

धनुषा– प्रदेश नं २ को प्रदेशसभा बैठक दुई महिनादेखि बस्न सकेको छैन । बैठक कहिले बस्ने अझै निश्चित छैन । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विभाजनका कारण प्रदेशसभाको बैठक अनिश्चित बनेको हो । गत असारमा सरकारले प्रदेशसभाबाट बजेट पारित गरेपछि छैटौँ अधिवेशन अन्त्य गरिएको थियो । सातौँ अधिवेशनको हालसम्म कुनै सुरसार छैन ।

 

लामो समयसम्म प्रदेशसभा बैठक नबस्दा संसद्माथि नै प्रश्न उठेको सत्तारूढ दलकै सांसदहरू बताउँछन् । प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बैठक चाँडै बोलाउन छलफल अघि बढाइएको बताए । ‘दसैंँअघि नै अधिवेशन आह्वान गर्ने तयारी छ’, उनले भने । 

 

यसैगरी प्रदेशसभाका विभिन्न विषयगत संसदीय समितिसमेत अहिले सभापतिबिहीन छन् । सार्वजनिक लेखा, कृषि र प्राकृतिक स्रोतलगायत समिति सभापतिबिहीन छन् । अहिले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको सङ्ख्या सात पुगेको छ । यसअघि पाँच दल थिए । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नयाँ दलकारुपमा अस्तित्वमा आएका छन् । 

 

जसपा विभाजित भएसँगै महन्थ ठाकुर नेतृत्वमाको लोसपामा १६ प्रदेशसभा सदस्यले सनाखत गरेका छन् । त्यस्तै एमाले विभाजित एकीकृत समाजवादीमा १३ प्रदेशसभा सदस्यले सनाखत गरेका छन् । प्रदेशसभामा जसपाका ३९, नेपाली कांग्रेसका १९, लोसपाका १६, एकीकृत समाजवादीका १३, नेकपा (माओवादी केन्द्र) का ८, एमालेका ८ र नेपाल सङ्घीय समाजवादी पार्टीका एक सांसद छन् । एकीकृत समाजवादी प्रदेश सरकारमा सहभागी हुने भएको छ । सङ्घीय सरकारमा बनेको समीकरणजस्तै प्रदेश २ मा पनि बनाइने दलहरूबीच सहमति भएको छ । अहिले जसपाको नेतृत्वमा कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी छन् ।