close

कर्णालीका ऊर्जामन्त्रीले गरे त्रिपक्षीय कार्य सम्पादन सम्झौता

कर्णालीका ऊर्जामन्त्रीले गरे त्रिपक्षीय कार्य सम्पादन सम्झौता

Trulli
ADVERTISEMENT

जुम्ला– कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ, मन्त्रालयका सचिवसहित कार्यालय प्रमुखबीच कार्य सम्पादन करार सम्झौता गरिएको छ । 


शुक्रबार मन्त्री श्रेष्ठ र कार्यवाहक सचिव धर्मेन्द्रकुमार झाबीच कार्य सम्पादन करार सम्झौता गरिएको हो । मन्त्री श्रेष्ठको उपस्थितिमा सचिव झा र जिल्लाका कार्यालय प्रमुखबीच कार्य सम्पादन सम्झौता भएको छ ।

 

मन्त्रालयले लिएको लक्ष्य र योजनालाई समयमै सम्पन्न गर्न सचिव र १० वटै जिल्लाका कार्यालय प्रमुखसँग कार्य सम्पादन सम्झौता गरिएको हो ।

 

जलस्रोत तथा ऊर्जामन्त्री श्रेष्ठले भने, ‘सम्झौताअनुसार काम सम्पन्न गर्ने कार्यालयलाई पुरस्कार र कार्य सम्पन्न नगर्नेलाई दण्डित गर्ने व्यवस्था गरिएको छ ।’
कार्यक्रममा मन्त्री श्रेष्ठले सम्झौताले जिम्मेवारी बोध गराउनुका साथै पुरस्कार र सजायको व्यवस्था हुने सुनाए ।


‘सम्झौताको कार्यान्वयन गर्नु मन्त्री, सचिव, महाशाखा प्रमुख, कार्यालय प्रमुख सबैको जिम्मेवारी र दायित्व हो’, मन्त्री श्रेष्ठले भने, ‘कर्णालीकै उत्कृष्ट मन्त्रालय बनाउन तपाईंहरू सबैको भूमिका महत्त्वपूर्ण रहन्छ ।’

 

दीर्घकालीन महत्त्वका योजनालाई सम्झौताअनुसार तोकिएकै समय मितव्ययी, पारदर्शी, प्रभावकारी ढंगले पूरा गर्न उनले निर्देशन दिए । ‘यो सम्झौतालाई प्रक्रियागत ढंगले नबुझ्नुहोला’, मन्त्री श्रेष्ठले भने, ‘कसरी परिणाममुखी बनाउन सकिन्छ, त्यसतर्फ केन्द्रित हुनुहोला ।’ 


मन्त्री श्रेष्ठले मन्त्रालयका कार्यक्रम कार्यान्वयन गर्दा आइपर्ने समस्याको समाधान गर्न तयार रहेको बताए । ‘सम्झौतामा पुरस्कृत र कारबाही दुवैको व्यवस्था गरिएको छ’, उनले भने ।

 

जलविद्युत्का कार्यक्रमलाई अघि बढाउन र जनतालाई उज्यालो उपलब्ध गराउनेतिर ध्यान दिन कार्यालय प्रमुखलाई उनले निर्देशन दिए । ‘कर्णाली जलस्रोतमा धनी छ, तर यहाँका नागरिक अझै अध्याँरोमै रात बिताउन बाध्य छन्’, उनले भने, ‘साना तथा लघु जलविद्युत्को सम्भाव्यता अध्ययन गरेर जनतालाई अध्याँरोबाट मुक्ति दिन तपाईंहरू अघि बढ्नुस् ।’ 

 

मन्त्रालयका सचिव झाले कार्य सम्पादन करार सम्झौताअनुसार आफू र मातहतका कार्यालय प्रमुखले काम गर्ने प्रतिबद्धता जनाए । ‘नयाँ कार्यालयबाट भएकाले शून्यबाट काम गर्नुपर्ने बाध्यता छ, उनले भने, ‘उत्कृष्ट र उदाहरणीय मन्त्रालय बनाउन क्षमता, विवेक र कर्णालीको आवश्यकताअनुसार काम गर्छौं ।’


सिनियर डिभिजनल इन्जिनियर गोपाल शर्माले टार सिँचाइ आयोजना, बस्ती उज्यालो कार्यक्रम, जलविद्युत् आयोजना, खानेपानीलगायत नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने योजनालाई समयमै र प्रभावकारी ढंगले काम गर्न लागिरहेको बताए । कामलाई सहज बनाउने, काम गरिसकेपछि मूल्यांकन गर्न सकिने सूचक र मानक राखेर कार्य सम्पादन करार सम्झौता गरिएको उनले जानकारी दिए ।


‘सम्झौतामा चालू आर्थिक वर्षभरि गरिने कामको लिस्टिङ गरेका छौँ’, उनले भने, ‘तोकिएको समय र सीमाभित्र रहेर सम्झौताअनुसार काम गर्नेछौँ ।’