मकवानपुर– बागमती प्रदेशप्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेका छन् । प्रदेश प्रमुख शर्माले बागमती प्रदेशको आज बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार अधिवेशन अन्त्य गरेको उनको सचिवायले जनाएको छ ।
प्रदेश प्रमुख शर्माले मन्त्रिपरिषद्को सिफारिस लगत्तै नेपालको संविधानको धारा १८६ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । गत जेठ १६ गतेदेखि सञ्चालनमा भएको बागमती प्रदेशसभाको आठौँ अधिवेशनले हालसम्म २४ वटा बैठक बसेको थियो ।
त्यस अवधिमा प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । त्यसैगरी प्रदेश सरकारको आर्थिक ऐन विनियोजन ऐन र प्रदेश सार्वजनिक सडक तथा पारवहन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पारित र प्रदेश उच्च शिक्षा विधेयक, केही प्रदेश ऐन संशोधनका लागि प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा नियमावली संशोधनका लागि १३ सदस्यीय समिति पनि गठन गरेको छ ।
यसै अधिवेशन बैठकको भदौ २ गते बागमती प्रदेश सरकार परिवर्तन भएको थियो । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएलगतै प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य चयन भएकी छिन् ।