रूपन्देही- कोरोना महामारीको तेस्रो संक्रमण बढ्दै गएको लुम्बिनीमा स्वास्थ्य मन्त्रालय हाँक्ने नेतृत्व भने खाली छ । २८ साउनमा मुख्यमन्त्री कुलप्रसाद केसीसहित ७ जना मन्त्री बने पनि यो मन्त्रालयले मन्त्री पाउन नसकेको हो । दलीग भागबन्डा नमिल्दा तीन जना बिनाविभागीय मन्त्री बनेर बसेका छन् । लुम्बिनी प्रदेशमा कोरोना महामारीको संक्रमण बढ्दो छ । तर, यसलाई नियन्त्रणका लागि तालुकदार निकाय लुम्बिनी प्रदेशको विभागीय मन्त्रालयमा सरकारले विभागीग मन्त्री दिन सकेको छैन ।
महामारी समयमा स्वास्थ्य मन्त्रालयलाई बेवास्ता गरिएको छ । ३ जना मन्त्री बिनाविभागीय बनाएर राखिए पनि गठबन्धन दलमा भागबन्डा नमिलेका कारण मन्त्रालयले अभिभावक पाउन नसकेको हो ।
६ जना मन्त्री नियुक्त हुँदा पनि अझै प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री पाएको छैन । २७ साउनमा शंकर पोखरेलले राजीनामा दिएपछि केसी लुम्बिनीको मुख्यमन्त्री भएका छन् । मुख्यमन्त्री भएसँगै केसीले ३ जनालाई विभागीय र ३ जनालाई बिनाविभागीय गरी ६ जनालाई मन्त्री बनाए पनि स्वास्थ्य मन्त्रालय कसको भागमा पर्ने भन्ने टुंगो नलागेको हो ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका कर्मचारी कोभिडका बेला स्वास्थ्यमन्त्री छिटो नियुक्त गर्न आवश्यक रहेको बताउँछन् । ‘मन्त्रिपरिषद्मा प्रस्ताव लैजान, नीतिगत निर्णय गर्न मन्त्री चाहिन्छ । अझ कोभिडका बेला विभागीय मन्त्री अति आवश्यक छ । धेरै दिन मन्त्रालयमा मन्त्री नहुँदा समस्या आउन सक्छ ।’
नयाँ सरकार बनेपछि सरकारले क्यान्सरपीडित, मिर्गौलापीडितलाई २ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । त्यो निर्णय कार्यान्वयन गरेर निर्देशनालयमा पठाउन मन्त्री चाहिन्छ । अहिले मन्त्रालय सम्हालेका मुख्यमन्त्रीले नै मन्त्रीको भूमिकामा निर्णय गर्न सक्छन् । तर, कार्य व्यस्तताले मन्त्रीलाई जस्तो मुख्यमन्त्रीलाई सहज हुँदैन ।
३ वर्षसम्म सामाजिक विकास मन्त्रालयले स्वास्थ्य क्षेत्र हेरे पनि गत वैशाखमा जसपाका ४ जनालाई मन्त्री बनाउन तत्कालीन मुख्यमन्त्री पोखरेलले मन्त्रालय विभाजन गरेका थिए । सामाजिक विकास मन्त्रालयलाई विभाजन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको थियो । प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले अब छिट्टै स्वास्थ्य मन्त्रालयले विभागीय मन्त्री पाउने दाबी गरे ।
‘गठबन्धनको बीचमा मन्त्रालयको बाँडफाँट र कार्य विभाजन गर्न केही समय लागेको हो । दुई–तीनभित्र स्वास्थ्यसहित सबै मन्त्रालयमा मन्त्रीको जिम्मेवारी तोकिन्छ,’ खड्काले भने, ‘यो विषयमा सरकार गम्भीर छ । स्वास्थ्य मन्त्रालयले छिट्टै विभागीय मन्त्री पाउँछ ।’ सरकारले विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गर्ने भनिए पनि विपक्षीले अवरोध गरेका कारण त्यो समय पनि धकेलिने भएको छ ।