रुपन्देही- लुम्बिनी प्रदेशमा गठबन्धन दलले सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरेका छन् । माओवादी केन्द्र सहितको ४ दलीय गठबन्धनले दावी पेश गरेको नेपाली कांग्रेस संसदीय दलका नेता फखरुद्दिन खानले बताए ।
माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी सोनामको नेतृत्वमा सरकार गठनको दावी गरिएको छ , प्रदेश प्रमुख शेरचनले हिजो एक विज्ञप्ति जारी गर्दै आज ३ बजे सम्ममा सरकार गठनका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेका थिए ।
केसीको नेतृत्वमा बन्ने सरकारले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेको कांग्रेस नेता खानले बताए । सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक एक जना मन्त्रिमण्डलमा जाने छन् भने राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी हुने बारे आधिकारिक धारणा बनाइसकेको छैन ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार ४ दलको सिफारिसमा माओवादी केन्द्रका नेता केसी मुख्यमन्त्री हुने पक्का भएको छ । एमाले सांसद बैजनाथ चौधरीले आफूहरु प्रतिपक्षमा रहने बताएका छन् । प्रदेश प्रमुखले आजै मुख्यमन्त्री नियुक्त गर्ने र आजै सपथ समेत गराउने तयारी छ । लुम्बिनी प्रदेशसभाका हाल ८० सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक पर्दछ ।
४ दलीय गठबन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् । आजै तीन सदस्यीय मन्त्रीमण्डल गठन गर्ने तयारी छ । १० सदस्यीय हुने मन्त्रीमण्डलमा पहिलो चरणमा कांग्रेसबाट डिल्ली चौधरी र जसपाबाट सहश्राम यादव मन्त्री बन्ने पक्का भएको छ । चौधरीले आन्तरिक मामिला तथा कानुन र यादवले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मा पाउने बताइएको छ ।