महोत्तरी- प्रदेश २ सरकारले ‘बेटी बचाऊ, बेटी पढाऊ ’ अभियानअन्तर्गत सुरु गरेको बेटी बिमा कार्यक्रम बन्द भएको छ । प्रभु बैंकसित भएको सम्झौता अवधि सकिएपछि बिमा कार्यक्रम रोकिएको हो ।
गत माघमा प्रदेश २ सरकारले बिमा कार्यक्रमलाई अभियानको रूपमा अगाडि बढाउँदै २० वर्षमा ३ लाख निक्षेप भुक्तानी हुने घोषणा गरेको थियो ।
प्रदेश सरकारले घोषणा गरे अनुसारको कार्यक्रम पूर्ण रुपमा बन्द भएको छ । कात्तिकदेखि जन्मेका छोरीहरूको बिमाका लागि दर्ता समेत गरिएको छैन् । त्यसअघि साउनदेखि दर्ता भएका छोरीहरूको खाता खोलेर बैंकमा रकम दाखिल नगरिएको पाइएको छ ।
‘माघ महिनामा बिमाका लागि सञ्चालन गरिएको शिविरमा दर्ता भएका बेटीहरूको बिमाको रकम पठाइसकिएको छैन्’ कार्यक्रम संयोजक प्रियंका यादवले भनिन्, दर्ता भएको कागजातहरू सबै पालिकामा छ । उनीहरूको अहिले सबै प्रकृया पुरा भइसकेको छैन ।
‘हाल सम्म दुई चरणमा गरेर ७ हजार १ सय २९ जना बेटीको सबै प्रकृया पुरागरी खातामा रकम जम्मा भइसकेको छ । ’
कात्तिक महिनादेखि दर्ताको काम नै रोकिएको उनले जनाइन् । शिविरबाट संकलित २६ हजार बेटीको प्रकृया पुरा नभएको बताउँदै उनले बैंक छनौटको प्रकृयालाइ अगाडि बढाइएको बताएकी छन् ।
प्रभु बैंकसितको सम्झौता रद्द भएको ७ महिना भइसक्दापनि अर्को बैंकसित सम्झौता गरिएको छैन । प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ अभियानलाई अत्यन्त महत्वका साथ प्रचारमा ल्याएपनि दुई वर्ष पनि निरन्तरता पाउन सकेन ।
२० वर्ष पछि बेटीलाई एकलाख भुक्तानी दिने कार्यक्रमबाट सुरु भएको योजनामा रकम तीन लाख पु¥याइएको छ । तर हाल सम्म ७ हजार बेटीको मात्र बिमा/मुद्दतीमा रकम जम्मा भएको छ ।
नेपाल राष्ट्र बैंकमा दर्ता रहेका फाइनान्स कम्पनीहरू मार्फत मुद्दती बचतको कार्य गरे निर्धारित २० वर्षमा बैंकले दिने ब्याज भन्दा बढी रकम फाइनान्स कम्पनीले दिनेछ ।
बैंक भन्दा फाइनान्स कम्पनीको ब्याजदर बढी भएको र अधिकतम साढे ५ वर्षमा रकम दोब्बर हुने भएकाले बैंकको भन्दा फाइनान्स कम्पनीबाट बेटीले २० वर्षमा बढी रकम भुक्तानी पाउने छन् ।