धनुषा - प्रदेश २ मा प्रदेश सरकारको कामकाजको भाषा, प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने विषय अझै अन्योलमै छ । ३ तीन दर्जन कानुन बनाइसकेको प्रदेश २ ले मुख्य विषय स्थायी राजधानी, प्रदेशको नाम र कामकाजको भाषाबारे टुंगो लागाउन नसकेको हो
प्रदेशको नाम र राजधानी पारितका लागि प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश २ को प्रदेशसभामा सत्तापक्षमा तत्कालीन समाजवादीका ३०, राजपाका २५ गरी ५५ सांसद छन् । यस्तै, प्रमुख प्रतिपक्षी नेकपाका ३२, कांग्रेसका १९ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् ।
सर्वसम्मत निर्णय गर्न नसकेपछि प्रदेशसभाले प्रक्रियाअनुसार नामकरण र राजधानीको लागि ४ चैत २०७६ मा निर्वाचनसमेत गरेको थियो । तर, दुई तिहाइ नपुगेपछि नाम र स्थायी राजधानी बन्न सकेन ।
प्रदेशको नामकरणका लागि नेकपाले जानकी, कांग्रेसले मिथिला-भोजपुरा र सत्तासीन समाजवादी एवं राष्ट्रिय जनता पार्टी (हाल एकीकृत) ले संयुक्त रूपमा मधेस प्रदेशको नाम दर्ता गराएका थिए ।
प्रदेशको राजधानीका विषयमा अधिकांश दलले जनकपुरको नाम अघि सारे पनि क्षेत्रबारे भिन्नता देखिएको छ । कतिपय प्रदेशसभा सदस्यले वीरगञ्जको नाम पनि दर्ता गराए ।
सत्तासीन दलले राजधानी जनकपुरको प्रस्तावमा मिथिला माध्यमिकी परिक्रमा सडक, उत्तरमा ढल्केबर छुने गरी, पूर्वमा कमला नदीसम्म र दक्षिणमा भारतको सीमासम्म क्षेत्रफल तोकेको थियो ।
त्यस्तै, सत्तासीन दलकै ७ जना सदस्यले संयुक्त प्रस्तावको विपक्षमा राजधानी वीरगञ्जसहित विन्ध्यवासिनी, पोखरिया, पर्सागढी, जितपुर हुँदै सिम्रौनगढको क्षेत्रफलको प्रस्ताव अघि सारेका थिए ।
नेकपाले राजधानी जनकपुर, परिक्रमा मार्गसहित पूरै धनुषाको प्रस्ताव गरेको छ । कांग्रेसले राजधानी जनकपुरधाम र क्षेत्रफलबारे बहस चलाइरहेको छ । कांग्रेसका ४ सदस्यले आप्mनै पार्टीले अगाडि सारको नामप्रति विमति राख्दै राजधानीका लागि वीरगञ्जको नाम प्रस्ताव गरेका थिए ।
प्रदेशको नाम, स्थायी राजधानी र भाषाबारे प्रदेशबासीको भावनालाई बुझ्न प्रदेश २ सरकारले गत ११ कात्तिक २०७५ मा डा. हरिवंश झाको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो । यो आयोगल प्रदेशका ८ वटै जिल्लामा पुगेर जनमत बुझेको थियो ।
प्रदेश राजधानी जनकपुर नै बनाउनुपर्नेमा धेरैको सहमति रहे पनि नामकरणको विषयमा सर्वसाधारणको मतसमेत विभाजित छ । तथ्यांकअनुसार प्रदेश २ मा बोलिने ८९ भाषामध्ये मैथिली भाषीको संख्या सर्वाधिक २४ लाख ४७ हजार ९ सय ७८ रहेको छ ।
दोस्रो स्थानमा भोजपुरी भाषीको १० लाख ३ हजार ८ सय ७३ र तेस्रो स्थानमा बज्जिका भाषीको ७ लाख ९१ हजार ६ सय ४२ रहेको छ । राष्ट्र भाषा नेपाली बोल्ने संख्या ३ लाख ६० हजार २७६, थारु २ लाख ३ हजार ५ सय ७५ र तामाङ भाषीको संख्या १ लाख ४ हजार ९८४ रहेको छ ।
प्रदेशका १ सय ३५ स्थानीय तहमा मैथिली भाषीको उपस्थिति रहे पनि सरकारी कामकाजको भाषा कुनलाई बनाउने भन्ने विषयमा प्रदेशसभा सदस्यबीच मतभिन्नता छ ।
सरकार चलाउनेहरूले भाषाबारे भिन्दाभिन्दै अभिव्यक्ति दिएपछि प्रदेशका नागरिकले आपूmले जितेर पठाएका प्रतिनिधिलाई सोध्न थालेका छन्, माननीयज्यू, खोइ हाम्रो प्रदेशको नाम, भाषा र स्थायी मुकाम ?