close

'काठमाडौं उपत्यका आठौं प्रदेश बन्न लागेको हो ?'

संघीय सरकारविरुद्ध अदालत जाने प्रदेश सरकारको तयारी

'काठमाडौं उपत्यका आठौं प्रदेश बन्न लागेको हो ?'

संघीय सरकारविरुद्ध अदालत जाने प्रदेश सरकारको तयारी

Trulli
ADVERTISEMENT

मकवानपुर– संघीय सरकारले प्रहरी समायोजनको विषयमा प्रदेशको संवैधानिक अधिकार कटौती गरेको भन्दै बागमती प्रदेश सरकार विरोधमा उत्रिएको छ ।

 

बागमती र संघीय सरकारबीच लामो समयदेखि उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको शान्ति सुरक्षाको विषयलाई लिएर टकराव जारी छ ।

 

संघीय सरकारले प्रदेशको अधिकार कटौती गरेर उपत्यकाको शान्ति सुरक्षासम्बन्धी अधिकार आफू मातहत ल्याएपछि बागमती सरकारले असन्तुष्टि जनाएको हो ।

 

नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐनलाई गत १२ असोजमा सरकारले अध्यादेशमार्फत संशोधन गर्दै उपत्यकाको शान्ति सुरक्षा, अपराध, अनुसन्धानलगायत कार्य केन्द्र सरकार मातहतको नेपाल प्रहरीले गर्ने व्यवस्था गरेको थियो ।

 

बागमती सरकारले प्रदेशको संवैधानिक अधिकारअनुसार उपत्यकासहित १३ वटै जिल्लाको शान्ति सुरक्षा आफू मातहत रहनुपर्ने बताउँदै आएको थियो ।

 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले संघीय सरकारले नेपाल प्रहरी र  प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय गर्न बनेको ऐनको अध्यादेशमार्फत गरेको संशोधनले प्रदेश प्रहरीका तीनवटा जिल्लाको क्षेत्राधिकार कटौती गरेको प्रतिक्रिया दिए । संघीय सरकारको यो कदम संविधान सम्मत नभएको उनले जिकिर गरे ।

 

संघीय सरकारले उपत्यकालाई अघोषित रूपमा अर्को आठौं प्रदेश बनाएको मन्त्री जम्मकट्टेलको आरोप छ । उनले प्रदेशको अधिकारका लागि संवैधानिक  र कानूनी लडाइँ लड्ने पनि बताए ।

 

पालिका खबरसँग कुरा गर्दै मन्त्री जम्मकट्टेलले भने, ‘प्रहरी समायोजनका नाममा प्रदेशको अधिकारमा हस्तक्षेप गरेर संघीय सरकारले काठमाडौं उपत्यकालाई आठौं प्रदेश बनाउन लागेको हो भने हामी यसविरुद्ध कानुनी र संवैधानिक लडाइँ गर्छौं ।’

 

संविधानले दिएको अधिकारको थपघट संविधान संशोधनबाट मात्र गर्न सकिने र संसदले बनाएको कानुनलाई अध्यादेशबाट संशोधन गरेर संविधानले दिएको अधिकारलाई थपघट गर्न नसकिने धारणा मन्त्री जम्मकट्टेलको छ ।

 

‘संविधानको  अधिनस्थ भएर संसदले कानुन बनाउन सक्छ तर संसदले बनाएको कानुनको अधिनस्थ संविधान हुन सक्दैन’, उनले भने ।

 

संविधानले स्पष्ट रूपमा प्रदेशभित्रको प्रहरी प्रशासन र शान्ति सुरक्षाको अधिकार प्रदेशलाई तोकेको भए पनि लामो समयदेखि प्रदेश र संघबीच विवाद जारी थियो । प्रदेशको एकल अधिकारको सूचीमा प्राथमिकतासाथ प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षालाई राखिएको छ ।

 

संघीय संसद्ले गत माघमा बनाएको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको ऐनमा प्रदेशभित्रको शान्ति सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्ने अधिकार प्रदेश प्रहरीलाई दिइएको छ ।

 

संशोधनमार्फत ऐनमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा नेपाल प्रहरीअन्तर्गतका प्रहरी कार्यालय रहने व्यवस्था गरिएको छ ।

 

अध्यादेशमार्फत ऐन संशोधन गरी उपत्यकाभित्रको शान्ति सुरक्षामा प्रदेशको कुनै भूमिका नरहने भएको हो । बागमती प्रदेशमा रहेका १३ जिल्लामध्ये अब १० जिल्लामा मात्र प्रदेश प्रहरी मातहत हुनेछन् ।

 

गत साउनमा भएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूसँगको छलफलमा सरकारका तर्फबाट त्यस्तो प्रस्ताव ल्याइएको थियो । यसमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री जम्मकट्टेलले असहमति जनाएका थिए ।