रुपन्देही– लुम्बिनी प्रदेश सरकारले चाडपर्व लक्षित सडक सुरक्षा विशेष रणनीतिक योजना बनाएर तत्कालै लागू गर्ने निर्णय गरेको छ । नजिकिँदै गरेका दसैं–तिहार, छठजस्ता चाडपर्वमा हुन सक्ने सवारी दुर्घटनालगायत घटनाबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा विशेष रणनीति अपनाइएको प्रदेश सरकारले जनाएको छ ।
सरोकारवाला पक्षसँग छलफल गरी सडक दुर्घटनाबाट हुने मानवीय क्षति शून्यमा झार्ने र सवारी दुर्घटना न्यूनीकरण गर्न आवश्यक सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले बताएको छ ।
मन्त्रालयले आयोजना गरेको सर्वपक्षीय छलफलमा विशेष रणनीति सफल पार्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रविलाल पन्थ संयोजकत्वको विशेष अनुगमन समिति निर्माण गरेको छ ।
‘समितिले कोभिड–१९ को समस्यालाई समेत ध्यानमा राखेर सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै विशेष रणनीति कार्यान्वयन गर्न÷गराउन तदारुकता देखाउने गरी काम अघि बढाउँछौं’, सचिव पन्तले भने ।
चाडपर्वका बेला सवारी साधन र यात्रुको भीडभाड बढ्न सक्ने, यसले कोभिडको संक्रमण निम्त्याउने भएकाले जनस्वास्थ्य मापदण्डसमेत पालना गराउनुपर्ने उनले बताए ।
विशेष रणनीतिअन्तर्गत तत्काल सडक मर्मत गर्ने, ट्राफिक नियम कडाइसाथ लागू गर्ने, सहज यातायातका साधन उपलब्ध गराउनेलगायत विभिन्न निर्णय गरिएको छ ।
सडकको दुरावस्था र अधिक दुर्घटना हुने प्रदेशका ३ स्थान नवलपरासीको दाउन्ने, बुटवलको सिद्धबाबा र कपिलवस्तुको धानखोला क्षेत्रमा विशेष ध्यान दिन विशेष किसिमको निगरानी र बजेटसमेत छुट्याइएको मन्त्रालयले जनाएको छ ।