close

संक्रमित भएरै पनि फिल्डमै छन् सुरक्षाकर्मी 

संक्रमित भएरै पनि फिल्डमै छन् सुरक्षाकर्मी 

Trulli
ADVERTISEMENT

कोरोना भाइरसको संक्रमण बढेसँगै सुरक्षामा खटिँदै आएका देशभरका सुरक्षाकर्मी संक्रमित हुने दर पनि बढ्दै गएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालयसहित प्रदेशमा कार्यरत सुरक्षाकर्मी संक्रमित हुने दर दिनानुदिन बढिरहेको छ । 

गण्डकी प्रदेश प्रहरी कार्यालयको तथ्याकंअनुसार हालसम्म गण्डकी प्रदेशमा कार्यरत एक सय ५२ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस (कोभिड – १९) को संक्रमण  देखिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता किरण राणाले जानकारी दिए । राणाका अनुसार  संक्रमण भएका मध्ये ६६ जना कोरोना मुक्त भई नियमित सेवामा फर्किसकेका छन् भने ८६ जना उपचाररत छन् । 

प्रहरीमा कोरोना जोखिम बढ्दै गएपछि विशेष सावधानी अपनाइएको प्रवक्ता राणाले बताए । ‘स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालना गर्दै सेवामा खटिने र संक्रमित  भएका अवस्थामा अन्य प्रहरी कर्मचारीहरूमा संक्रमण फैलन नदिन समूहगत विभाजन गरी ब्यारेकमा रहने बस्ने, ड्युटीमा परिचालन गर्ने र कार्यालयगत कामकाज गर्ने व्यवस्था मिलाएका छौं, उनले भने ।

संक्रमणबाट प्रभावित प्रहरी कार्यालयहरूमा कामकाजमा बाधा हुन नदिनको लागि गण गुल्महरूबाट प्रहरी कर्मचारीहरू खटाई पठाइएको र फिर्ता भए पश्चात कोभिड– १९ परीक्षण गरिएको उनले जानकारी दिए ।  

अत्यावश्यक घरायसी समस्याको कारण घर गएका प्रहरी कर्मचारीहरू कार्यालयमा हाजिर हुन आउँदा क्वारेन्टिनमा राखी पिसिआर परीक्षण पश्चात नेगेटिभ रिपोर्ट आएको खण्डमा नियमित ड्युटीमा लगाउने र पोजेटिभ देखिएको खण्डमा आइसोलेसनमा राख्ने ब्यवस्था प्रहरीले मिलाएको छ ।

कार्यालय परिसर, अफिस कोठा एवं प्रहरी हिरासतलाई समय समयमा डिस्इन्फेक्सन गरिएको र नेपाल प्रहरीबाट तयार पारिएको कोभिड १९ महामारी विरूद्धको कार्ययोजना बमोजिम प्रहरी कार्यालयका काम कारवाही अघि बढाइएको छ ।  

स्वास्थ्य परीक्षण बिना नै प्रहरी कर्मचारीहरू सिमानाहरूमा चेकजाँच एवं अन्य ड्युटीमा खटिनुपर्ने जिम्मेवारीका साथै जघन्य अपराधमा संलग्नलाई पक्राउ एवं नियन्त्रणमा लिँदा निजको सम्पर्कमा आएका प्रहरी कर्मचारीहरूलाई कोभिड– १९ को संक्रमण हुने सम्भावना बढी हुनु यतिखेर चुनौतीका रुपमा देखिएको छ । 

लकडाउन खुलेपछि सवारी साधनको प्रयोग गर्ने मानिसहरूको संख्यामा बृद्धी भएकाले संक्रमितहरूको सम्पर्कमा आएका मानिसहरूको कन्ट्याक्ट ट्रेसिङ गर्नमा कठिनाई हुनुले पनि प्रहरीले चुनौतीका रुपमा लिएको छ । संक्रमणको जोखिममा रहेका प्रहरी कर्मचारीहरूलाई पुग्ने गरी पिपिइ, मास्क, पञ्जा, सेनिटाइजरलगायतका अन्य सुरक्षा उपकरणहरूको अभाव रहेको भए पनि बाढी पहिरो, सवारी दुर्घटनालगायतका विपद् उद्दारमा खटिनुपर्ने हुँदा पनि जोखिम बढ्दै गएको छ ।

त्यस्तै धार्मिक तथा सामाजिक चाडपर्वहरू मनाउनै पर्छ भन्ने आम नागरिकहरूको सोचाईका कारण हुने भिडभाड प्रहरी प्रशासनबाट रोक्न खोज्दा झडपको सामना गर्नुपर्ने जस्ता विषयलाई पनि प्रहरीले चुनौतीका रुपमा लिएको छ ।

बढ्दो संक्रमणको चुनौतीसँगै संक्रमित प्रहरी कर्मचारीहरूको ब्यवस्थापन एवं मनोबल बढाउने प्रयास थालिएको छ ।

संक्रमित प्रहरी कर्मचारीलाई स्वास्थ्य संस्थासँगको समन्वयमा आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको छ भने आइसोलेसनमा रहेका प्रहरी कर्मचारीहरूको स्वास्थ्यमा समस्या देखिएमा तत्काल नजिकैको अस्पताल लैजाने गरिएको छ । 

कोरोनाको असर र यसबाट निको हुन अवलम्बन गर्नुपर्ने उपायहरूको जानकारीको व्यवस्था मिलाइएको छ । कार्यालय प्रमुख र जिम्मेवार अधिकृतबाट संक्रमितसँग नियमित टेलिफोन संवादमार्फत् उनीहरूको अवस्था बुझ्ने एवं हौसला बढाउने, आवश्यकतानुसार मनोविमर्शकहरूबाट मनोपरामर्श गर्ने व्यवस्था मिलाइएको छ ।

संक्रमित कर्मचारीलाई स्वास्थ्यकर आहारविहारको व्यवस्था गर्नुका साथै शारीरिक व्यायाम, योगलगायतका अभ्यास गर्नको लागि सहजिकरण गर्नुका साथै आइसोलेसनको मापदण्ड बमोजिम सेवा सुविधाको व्यवस्थापनमा कमी कमजोरी नहुने गरी व्यवस्था मिलाइएको प्रवक्ता राणाले जानकारी दिए ।  पत्रपत्रिका पढ्ने, सूचना एवं मनोरञ्जनको लागि रेडियो टिभीको व्यवस्थापन गरिएको छ ।    

पछिल्लो अद्यावधिक विवरणअनुसार गण्डकी प्रदेशको तनहु जिल्लामा १२ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको छ । जसमध्ये पाँच जना निको भएका छन् भने सात जना उपचाररत छन् । 

बागलुङ जिल्लामा चार जनामा कोरोना पुष्टि भएकोमा एक जना निको भएक र तीन जना उपचाररत छन् । नवलपरासी पूर्वमा कोरोना पुष्टि भएका छ जनामध्ये पाँच जना निको भइसकेका छन् भने एक जना उपचाररत छन् ।

स्याङजामा कोरोना पुष्टि भएका ४१ जना सबै निको भइसकेका छन् । कास्कीमा ५० जनामा कोरोना पुष्टि भएकोमा १३ जना निको भएका छन् भने ३७ जना उपचाररत छन् । लम्जुङमा ३६ जनामा कोरोना पुष्टि भएकोमा एक जना निको भइ फर्किएका छन् र ३५ जना उपचाररत छन् । म्याग्दी, पर्वत र मनाङमा एक-एक जनामा कोरोना पुष्टि भइ सबै उपचाररत छन् भने मुस्ताङमा अहिलेसम्म प्रहरी कर्मचारीमा कोरोना देखिएको छैन ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कोरोनाको जोखिममा उच्च सतर्कता अपनाएर शान्ति, सुरक्षा र अमन चयनका लागि प्रहरी खटिएको बताए । ‘जिल्लामा करिब नौ सय ५० को हाराहारीमा प्रहरी रहेका छन्, ८० वटा प्रहरी युनिट रहेको छ, जोखिम भएका कारण सतर्कता अपनाएर काममा खटिएका छौँ,’ उनले भने ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सन्तोष रोक्काले सुरक्षा सजगतालाई ध्यान दिदै आन्तरिक बसाइको व्यवस्थापनमा पनि अलग्गै छुट्याएर राख्ने गरिएको जानकारी दिए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय अन्तर्गत ९० जना कार्यरत रहेको जानकारी दिदै उहाँले जिल्ला कार्यालयसहित अन्य सातवटा पोष्टमा सात ÷सात जनाको दरले ट्राफिक प्रहरी खटिरहेको बताउनुभयो । 

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिन नदिने र नागरिकमा कोरोनाबाट बच्नका लागि सचेतना जगाउने उद्देश्यका साथ गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय अन्तर्गत रहेका ११ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालय अघि सचेतनामुलक सन्देशयुक्त फ्लेक्स बोर्ड टाँस्न लगाइएको उनले जानकारी दिए । 

गण्डकी प्रदेशमा हालसम्म कुल कोरोना संक्रमितको संख्या दुई हजार ९०३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

प्रदेशमा हालसम्म ५५ हजार ७३७ जनाको पिसिआर परीक्षण गरिएकोमा ५२ हजार ८३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशमा संक्रमित भएकामध्ये एक हजार ८४९ जना निको भएका छन् भने सक्रिय संक्रमित संख्या एक हजार ३० जना रहेको छ । 

कोरोना संक्रमणका कारण हालसम्म २४ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र क्षयरोग उपचार केन्द्रमा पिसिआर परीक्षण भइरहेको प्रादेशिक स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।