close

सुदूरपश्चिममा २०९ जना स्वास्थ्य र सुरक्षाकर्मी संक्रमित

सुदूरपश्चिममा २०९ जना स्वास्थ्य र सुरक्षाकर्मी संक्रमित

Trulli
ADVERTISEMENT

 

सुदूरपश्चिम प्रदेशमा हालसम्म ५८ जना स्वास्थ्यकर्मी र १ सय २४ जना सुरक्षाकर्मी गरी २ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबारसम्म सुरक्षाकर्मीमा पनि नेपाली सेनामा बढी संक्रमण देखिएको छ ।


कैलालीको गोरुंगेस्थित सेनाको सुदूरपश्चिम तालिम शिक्षालयमा ६७ र डोटीस्थित सैनिक गणमा २४ जना सैनिकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । तालिम शिक्षालयमा सुरुमा चार जनामा लक्षणसहितको कोरोना पुष्टि भएको थियो । अहिले चारै जना सैनिकको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी स्वास्थ्य निर्देशनालयले संक्रमितको सम्र्पकमा आएको व्यक्ति पहिचान गर्न १०५ वटा सिआइसिटी टोली सुदूरपश्चिम प्रदेशभर खटिएको निर्देशनालयका कोभिड–१९ का सम्पर्क व्यक्ति हेमराज जोशीले बताए । ‘यो टोलीले अहिलेससम्म सुदूरमा संक्रमितहरूको सम्पर्कमा आएका ९ हजार ७० जनाको स्वाब संकलन गरिसकेको छ’, उनले भने, ‘यहाँ कन्ट्रयाक ट्रेसिङबाट अहिलेसम्म १०६ जना संक्रमित  फेला परेका छन् ।’

त्यसैगरी कोरोना संक्रमण न्यूनीकरणका लागि अग्रपंक्तिमा खटिएका बैतडी बाहेक यहाँका आठ  जिल्लामा स्वास्थ्यकर्मीहरूमा कोरोना संक्रमण देखिएको छ । सबैभन्दा बढी अछाम जिल्लामा ४१ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।


त्यसैगरी बझाङमा एक, बाजुरामा सात, डडेल्धुरामा दुई, दार्चुला र डोटीमा एक÷एक, कैलालीमा २६ र कञ्चनपुरमा ६ जना स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको छ । सुरक्षाकर्मीतर्फ डडेल्धुराबाहेक सबै जिल्लामा संक्रमण देखिएको छ ।  जनप्रतिनिधि र अन्य सरकारी कर्मचारीमा पनि संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ ।


‘जनप्रतिनिधि र कर्मचारी गरी यहाँ विभिन्न जिल्ला गरी २६ जनामा संक्रमण देखिएको छ’, कोभिड–१९ का सम्पर्क व्यक्ति जोशीले भने, ‘भारतबाट अन्य मुलुकबाट आएका १ सय १ जनामा पनि संक्रमण देखिएको छ ।’


त्यसैगरी ट्राभल हिस्ट्री नै नभएका ४२ जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म ६ हजार १ सय ४५ जनामा संक्रमण देखिएकामा बिहीबारसम्म ५ हजार ९ सय ९३ जना निको भइसकेका छन् । 


‘१ हजार २ सय ६३ जनाको रिपोर्ट आउन बाँकी छ’, उनले भने, ‘यहाँ धनगढी, डडेल्धुरा, डोटी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण भइरहेको छ ।’ तीमध्ये २ सय ९५ जना आइसोलेसनमा बसिरहेका छन् भने बाँकी होम आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये यहाँ एक जनाको आइसियु र अर्को एक जनाको भेन्टिरलेटरमा उपचार भइरहेको छ । यद्यपि आइसियु र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामीहरूको संख्या बढेपछि समस्या देखिएको छ ।


सुदूरपश्चिममा आइसियु र भेन्टिलेटर अभाव छ । हालसम्म सुदूरमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । उमेर समूहका आधारमा हेर्ने हो भने यहाँ सबैभन्दा बढी १ हजार ८ सय ७५ जना २० देखि २९ वर्ष उमेर समूहका संक्रमित रहेका  छन् ।

३७ जना प्रहरीमा कोरोना

धनगढीस्थित सशस्त्र प्रहरी गण मुख्यालयका ३७ जना प्रहरीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा सो गणमा कार्यरत प्रहरीमा संक्रमणको पुष्टि भएको हो । 


प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले गणमा कार्यरत ७५ जनाको स्वाबको नमुना दिइएकामा ३७ जनामा कोरोना देखिएको जानकारी दिए । संक्रमित प्रहरीलाई धनगढीमै रहेको प्रहरीको आवासीय विद्यालयको आइसोलेसनमा राखिएको छ । योसमेत गरी सुदूरपश्चिम प्रदेशमा ७० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । 


सेती प्रादेशिक अस्पताल धनगढी, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको हो । योसँगै प्रदेशमा कारोना संक्रमितको कुल संख्या ६ हजार २ सय १५ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


कोभिड– १९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित जिल्ला कैलालीमा सक्रिय संक्रमितको संख्या पनि ४ सय ७१ पुगेको छ । यस्तै, अछाममा ४० बैतडी ५६ बझाङ ७३ बाजुरा ९, डडेलधुरा पाँच, दार्चुला सात, डोटी ४९ र कञ्चनपुरमा ३३ जनासहित प्रदेशमा कुल सक्रिय संक्रमित ७ सय ४३ पुगेका छन् ।


सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत एक जना संक्रमितको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको प्लाज्मा थेरापी विधिबाट उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।


बिहीबारसम्म प्रदेशमा पिसिआर पद्धतिबाट ६९ हजार ९ सय ७८ नमुनाको परीक्षण गरिसकिएको छ ।  नमुना परीक्षण गरिएको यो संख्या प्रदेशको कुल जनसंख्या २५ लाख ५२ हजार ५ सय १७ को दुई दशमलव ७२ प्रतिशत हो । कोरोना पोजेटिभ निको भई डिस्चार्ज हुनेमा ५ हजार ४ सय ६१ पुगेका छन् ।  


हालसम्म कोरोनाका कारण कैलालीका ६, बझाङ र बाजुराका दुई-दुई र अछाममा एक गरी  ११ जनाको मृत्यु भएको छ ।