close

विज्ञको सुझाव लिँदै कर्णाली योजना आयोग 

विज्ञको सुझाव लिँदै कर्णाली योजना आयोग 

Trulli
ADVERTISEMENT

कर्णाली प्रदेश योजना आयोगले प्रथम पञ्चवर्षीय योजनाको कार्यक्रम र नतिजा खाकाबारे सम्बन्धित मन्त्रालय तथा सरोकारवाला विज्ञहरूबाट सुझाव लिइरहेको छ । आयोगले हरेक दिन भर्चुअल बैठकबाट सुझाव लिँदै आएको हो ।


आयोगको यसअघि प्रकाशित आधारपत्रमा पञ्चवर्षीय योजनाको विषयगत पृष्ठभूमि, प्रमुख समस्या, चुनौती तथा अवसर र सोच, लक्ष्य, उद्देश्य, रणनीति तथा कार्यनीति ल्याइएको थियो । यसको विस्तृतीकरणमा कार्यक्रम तथा नतिजा खाका प्रस्तुत गरिएको कर्णाली प्रदेश योजना आयोगका कार्यवाहक उपाध्यक्ष डा. दीपेन्द्र रोकायाले जानकारी दिए ।


सुझाव संकलन बैठकमा आयोगका कार्यवाहक उपाध्यक्ष डा. रोकायाले विषयगत कार्यक्रम, कार्यक्रम अवधि, कुल अनुमानित लागत, अपेक्षित उपलब्धि एवं नतिजा खाकाका सूचकहरू प्रस्तुत गर्ने र त्यसैका आधारमा विज्ञहरूबाट सुझाव लिँदै आएको बताए । 


प्रत्येक दिन सञ्चालन हुने बैठकमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा आयोगका अध्यक्ष महेन्द्रबहादुर शाही, सम्बन्धित मन्त्रालयका मन्त्री, योजना आयोगका पदाधिकारीहरू, सम्बन्धित मन्त्रालयका सचिव, विज्ञ समूह र योजना महाशाखा प्रमुख सहभागी हुने गरेको कार्यवाहक उपाध्यक्ष डा. रोकायाले जानकारी दिए ।


बैठकबाट आएका सुझावलाई समावेश गरी परिमार्जन गरेर कर्णाली प्रदेशसभाका विषयगत समितिसँग छलफल गर्ने र प्राप्त सुझावलाई समावेश गरेर कर्णाली प्रदेशको पञ्चवर्षीय योजना प्रकाशन गरिने उनले बताए ।


गत भदौ २१ देखि सुरु गरिएको बैठक भदौ २७ सम्म सञ्चालन हुने आयोगले जनाएको छ ।