close

‘बिओपी’ स्थापनाका लागि स्वीकृति

‘बिओपी’ स्थापनाका लागि स्वीकृति

Trulli
ADVERTISEMENT

गृह मन्त्रालयले चीनसँगको सीमा नाका ताप्लेजुङको ओलाङचुङ्गोला र भारतसँगको सीमा नाका दार्चुलाको दत्तुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि स्वीकृति दिएको छ ।


सशस्त्र प्रहरी बल नेपालले मुलुकका विभिन्न क्षेत्रमा बिओपी स्थापना गर्नुपर्ने भन्दै गृह मन्त्रालयमा पेस गरेको प्रस्तावअनुसार दुई ठाउँका लागि मन्त्रालयले बिहीबार सो स्वीकृति दिएको हो ।


बिओपी राख्नका लागि स्थानीय तहसँग छलफल भइरहेकाले जग्गा प्राप्त हुनेबित्तिकै चौकी स्थापना गरिने सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायव महानिरीक्षक राजु अर्यालले जानकारी दिए । अन्य क्षेत्रमा पनि क्रमशः चौकी स्थापना गर्ने योजना सरकारको छ ।


गृहमन्त्री रामबहादुर थापाले मुलुकको सीमा क्षेत्रमा ५ सय चौकी स्थापना गर्ने यसअघि नै घोषणा गरिसकेका छन् । 


उक्त योजनाअनुसार चरणबद्ध रुपमा चौकी स्थापना गर्दै लगिनेछ । हाल चीन र भारतको सीमा क्षेत्रमा १ सय ५७ स्थानमा चौकी स्थापना भइसकेका छन् । चीनतर्फ पाँच वटा छन् । पछिल्लो एक वर्षमा मात्रै ५० स्थानमा चौकी स्थापना गरिएको अर्यालले जानकारी दिए । 


मन्त्रालयका अनुसार ५ सयमध्ये पहिलो चरणमा २ सय २१ स्थानमा स्थापना गर्ने लक्ष्य राखिएको छ । चालू आर्थिक वर्षभित्रमा सक्ने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ । हरेक चौकीमा ३५ जना सशस्त्र प्रहरी रहन्छन् ।