close

अकुत सम्पत्ति आर्जनको अभियोगमा मुद्दा 

अकुत सम्पत्ति आर्जनको अभियोगमा मुद्दा 

Trulli
ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानुनी तवरले १६ करोड ७२ लाख ५६ हजार ४ सय ९६ रुपैयाँ बराबरको सम्पत्ति कमाएको अभियोगमा संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुप्तासहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार ०३८ पुस १२ गते ओभरसियर पदबाट सरकारी सेवा प्रवेश गरेका गुग्ताले ०७६ असार ५ गतेसम्म पदमा वहाल रहँदासम्म गैरकानुनी तवरले सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेकाले विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको हो । 

आयोगका अनुसार गुप्ताकोे वैध आय १ करोड ११ लाख ६९ हजार ९ सय ६२ मात्रै रहेको भए पनि १७ करोड ८४ लाख २६ हजार ४ सय ५९ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । 

वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने १६ करोड ७२ लाख ५६ हजार ४ सय ९६ बराबरको रकमको स्रोत नखुलेको पाइएको छ । 

आयोगले गुप्ताका आफन्तहरू अन्जुकुमारी महतो, उदीतनारायाण प्रसाद रौनियार, चन्द्रेश्वर महतो, धीरजकुमार गुप्ता, प्रितीकुमारी गुप्ता, डा. रचनाप्रसाह साह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगीता साह रौनियार र सन्तोषकुमार गुप्ताको नाममा खाता खोली १० करोड ४४ लाख ४३ हजार ७ सय ८३ रुपैयाँ बराबरको रकम लुकाएर राखेको पाइएको छ ।  

आयोगले उनीहरूको सम्पत्ति जफत गरी हदैसम्मको कारबाहीको माग गरेको छ । यस्तै, आयोगले नेपाल खानेपानी संस्थान पोखरा शाखामा कार्यरत प्रशासन सहायक कृष्णहरि वाग्लेलाई सेवाग्राहीसँग २५ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

वाग्लेलाई पोखरा महानगरपालिका ट्याक्सी चोकबाट पक्राउ गरिएको र अनुसन्धान भइरहेको आयोगका प्रवक्ता अधिकारीले जानकारी दिए ।