close

प्रदेशको उत्पादन तथा रोजगारमा ३ अर्ब सहुलियतपूर्ण ऋण

प्रदेशको उत्पादन तथा रोजगारमा ३ अर्ब सहुलियतपूर्ण ऋण

Trulli
ADVERTISEMENT

मकवानपुर - बाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । प्रदेशको मन्त्रिपरिषद् बैठकले ३ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण प्रवाह गर्ने निर्णय गरेको हो ।


कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्ने कार्यविधिसमेत मन्त्रिपरिषद् बैठकले पारित गरेको छ ।


कार्यविधिअनुसार स्थानीय तहले सिफारिस गरेका आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका लागि सहुलियतपूर्ण ३ अर्ब ऋण लगानी गरिने सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए । उनले कृषि विकास बैंकमार्फत ऋण लगानी बताए ।


लगानीपछि सरकारले बेरोजगार युवा जनशक्तिलाई रोजगारमा आबद्ध गर्ने, फोहोरमैला व्यवस्थापन गर्ने, महिला तथा दलित समुदायको उद्यमशीलतालाई प्रवर्द्धन गर्ने, उत्पादनशील कार्यक्रमका लागि लगानी प्रवर्द्धन गर्ने, कोरोना भाइरसबाट प्रभावित कृषि, पर्यटन तथा रोजगारीमूलक घरेलु तथा लघु उद्योग व्यवसायीलाई पुनर्उत्थान गरिने मन्त्री ढुंगेल बताउँछन् ।


सहुलियतपूर्ण ब्याजदरमा ऋण लगानी  कार्यक्रम कार्यान्वयनको नीतिगत विषयमा आवश्यक निर्देशनका लागि सम्बन्धित मन्त्रालयका मन्त्री संयोजक हुने गरी निर्देशक समिति रहने व्यवस्था छ ।


प्रदेशले कृषि व्यवसायसम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण, उद्योग व्यवसाय, पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय, वन तथा वातावरणजन्य उद्योग, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास र फोहोरमैला व्यवस्थापनतर्फ ऋण लगानी हुनेछ ।

 

यसैगरी ऋण लगानी प्रक्रिया सहजीकरण तथा समन्वय गर्न सम्बन्धित मन्त्रालयका सचिव संयोजक रहने गरी समिति बनाइएको छ ।