close

भीमफेदी–कुलेखानी सुरुङमार्गको काम अगाडि नबढाउन निर्देशन

भीमफेदी–कुलेखानी सुरुङमार्गको काम अगाडि नबढाउन निर्देशन

Trulli
ADVERTISEMENT

मकवानपुर–  बागमती प्रदेश सार्वजनिक लेखा समितिले पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्गको काम तत्काल अगाडि नबढाउन निर्देशन दिएको छ ।

प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा अगाडि बढाइएको सुरुङमार्ग संघीय सरकारको सहलगानीमा निर्माण हुने भएको थियो । तर, सुरुङमार्गको विधागत अध्ययनका लागि बागमती सरकारलाई साथ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यदल गठन गरेको १९ दिनपछि लेखा समितिले काम अघि नबढाउन निर्देशन दिएको हो ।  

प्रदेश सार्वजनिक लेखा समितिको २८ भदौमा बसेको भर्चुलल बैठकले विभिन्न कानुनी जटिलता, आर्थिक स्रोतको सुनिश्चितता र विविधि कारण देखाउ“दै सुरुङमार्ग आयोजना अगाडि नबढाउन निर्देशन दिएको समिति सभापति न्हुच्छेनारायण श्रेष्ठले पालिका खबरलाई जानकारी दिएका छन् ।

९ भदौमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबीचको छलफल तथा निर्णयबाट ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले सुरुङमार्ग निर्माण र सञ्चालनका लागि प्राविधिक, आर्थिक र कानुनी पक्षमा तोकिएको कार्य क्षेत्रगत सर्तबमोजिम एक महिनाभित्र प्रतिवेदन पेस गर्नु पर्नेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदलबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रादेशिक समन्वय शाखाले ३० भदौमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशलाई जानकारी दिइसकेको थियो ।

लेखा समितिको बैठकमा  संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल पूर्वाधार विकास कम्पनी काठमाडौंबीच काठमाडौं–कुलेखानी–भीमफेदी–हेटौंडा (सुरुङ मार्गसहित) सडक निर्माणको सम्झौता भइसकेका कारण उक्त विषयको बैधानिकता तत्काल प्रष्टपार्न जरुरी रहेको सांसद्हरुले औल्याएका थिए ।

पूर्वाधार कम्पनीसँगको भएको सम्झौताको समयसीमा समाप्त भइसकेको अवस्थामा पनि सम्झौता रद्द नभएको र विधिवत्रुपमा उक्त योजना प्रदेश सरकारलाई हस्तान्तरण नभएकाले भविष्यमा कानुनी जटिलता आउनसक्ने देखिएपछि योजना अगाडि नबढाउन निर्देशन दिइएको समिति सभापति श्रेष्ठले जानकारी दिएका छन् ।

वैशाखमा निर्माण टेण्डर आह्वान गर्ने दाबी गरेको बागमती सरकारले अझै प्रक्रिया अघि बढाउन सकेको छैन । भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार अबको तीन महिनाभित्र टेण्डर आह्वान गर्ने तयारी भएको छ । मन्त्रालयले सुपरिवेक्षण परामर्शदाता छनोटका लागि केही समय अघिमात्र आशयपत्र जारी गरेको थियो ।

३ दशमलव ५ किलोमिटर लामो सुरुङमार्गका लागि प्रदेश सरकारले १३ अर्ब प्रारम्भिक लागत अनुमान गरेको छ । भीमफेदीदेखि कुलेखानीसम्म सुरुङमार्ग दुई लेनको हुनेछ । सुरुङमार्गभित्र एकातर्फ ग्यास र अर्कोतर्फबाट तेल लैजान पाइपलाइन राख्ने ठाउँसमेत छुट्टयाइने मन्त्रालयले जनाएको छ । सुरुङमार्ग निर्माण हुँदा हेटौंडा काठमाडौंको यात्र करिब २ घण्टामा गर्न सकिने छ ।

कोरोना महामारीको खर्च सार्वजनिक गर्न निर्देशन

लेखा समितिको बैठकले कोरोना महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत्बाट भएको खर्चको विवरण सार्वजनिक गर्न र लेखा समितिलाई उपलब्ध गराउन माग गरेको छ । 

प्रदेश सरकारले सञ्चालन गर्न लागेको विद्युतीय बस कुनैपनि व्यवसायिक योजना, कानुन, कार्यविधि तथा संरचनागत तयारी नभएकाले यस विषयलाई टुंग्याएर मात्र अगाडि बढन् निर्देशन दिइएको छ । 

बैठकले समितिअन्तर्गत् गठन भएको प्रदेश मन्त्रालय र मातहतका निकायले गरेका काम कारबाहीको अध्ययन, अनुगमन तथा मूल्यांकन उपसमिति, प्रतिवेदन तथा निर्देशन कार्यान्वयन अनुगमन तथा मूल्यांकन उपसमिति र खरिद अध्ययन तथा अनुगमन उपसमितिको म्याद असोज मसान्तसम्म थप्ने निर्णय समेत गरेको छ ।