काठमाडौं । आज चन्द्रग्रहण लाग्दै छ । नेपालबाट एक घण्टा २३ मिनेट ग्रहण देखिनेछ ।
धर्मशास्त्रअनुसार चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्छ । सोहीबमोजिम मङ्गलबार बिहान ०८:११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ ।
बेलुकी ०६:३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने धार्मिक मान्यता छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने विश्वास गरिन्छ ।
चन्द्रग्रहण कुन-कुन राशिले हेर्न हुन्छ ?
मङ्गलबार (आज) ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ ।
यो चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको छ ।चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको नेपाल पञ्चाङ्ग समितिले जनाएको छ।
समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख भए अनुसार तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख छ ।
कात्तिक २२ गते बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो ।
बेलुकी ०५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने छ ।बेलुकी ०५:२७ बजे ग्रहणको उन्मीलन हुने समितिले जनाएको छ । बेलुकी ०६:३४ बजे ग्रहण सकिन्छ ।