close

आज नेवार समुदायमा म्हः पूजा, यसरी गरिन्छ म्ह: पूजा

आज नेवार समुदायमा म्हः पूजा, यसरी गरिन्छ म्ह: पूजा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेवार समुदायमा म्हः अर्थात (आत्म) पूजा समेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

यस पर्वमा आफूले आफैलाई पूजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रूपमा एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्वित गरी आफैले आफ्नो पूजा गरिन्छ । 

आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।

पूजा विधि

यस पूजा सुरू गर्न सर्वप्रथम घरको बुइगलमा वा अन्य खुला कोठाको भुईंमा ढुंगाको धुलो प्रयोग गरी परिवारका प्रत्येक सदस्यको लागि एक एकवटा मण्डल बनाइन्छ । यसबाहेक सबैभन्दा माथि एक र सवैभन्दा मुनि एक गरी दुर्इ वटा थप मण्डल देवताका लागि बनाइन्छ । यसबाहेक पानीले भरिएको गाग्री, नाङ्लो र कूचोको लागि पनि मण्डल बनाइन्छ । मण्डललाई रंगहरू प्रयोग गरी सिंगारिन्छ र फलफूल, धूप, फूल, जजंका (यज्ञोपवित) आदि सामग्रीहरूले सजाइन्छ ।

परिवारका सवै सदस्यहरू लहरै पलेटी कसेर मण्डल सामुन्ने परी बस्दछ । परिवारको सबैभन्दा जेठी आमाले सुरूमा सूर्य रूपी सुकुण्डालाई पूजा गरी सवै मण्डलहरू पूजा गर्दछ । तत् पश्चात् सबैलाई 'धौ सँग' दहीको सगुन दिइन्छ । त्यसपछि सबैले लामो कपडाको बत्ती (खेलु इताः) मण्डलमाथि बालिन्छ । बालिएको खेलु इताःले दिप्तमान् भइरहेको मण्डलको पूजा गरी जेठी आमाले सजाइएको विमिरा, अन्य फलफूल, जजंका, गोदावरी फूल र बत्ती सवैको हातहातमा दिइन्छ र सबै सदस्यले ती सामग्रीहरू निधारले ढोगी ग्रहण गरिन्छ ।

यस पश्चात् खेँ सगँ (उसिनेको अण्डा र तेलमा तारेको माछाको सगुन) दिइन्छ । सगुन दिर्इ भातको जाँड तीन पटकसम्म थपी थपी खुवाइन्छ । यसरी जाँड थप्दा कचौरा भुर्इमा राख्नु हुँदैन । सगुन ग्रहण गर्दा सगुन दिने आमालाई यथाश्रद्धा दक्षिणा दिइन्छ ।

म्ह पूजा विधि स्थान, क्षेत्र, समुदाय अनुसार विविध स्वरूपमा पाइन्छ ।