close

साउने डोला: आधुनिकताले लोपोन्मुख, होमस्टेले जोगाउँदै

साउने डोला: आधुनिकताले लोपोन्मुख, होमस्टेले जोगाउँदै

Trulli
ADVERTISEMENT

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लाका रानाथारू समुदायले पुर्खौँदेखि साउने डोला दाजुभाइको दीर्घायुका लागि मनाउँदै आएका छन्। तर, रानाथारू समुदायलाई यो पर्व जीवित राख्न अहिले सकस नै छ।

रानाथारू समुदायको परम्परागत प्रमुख चाडपर्वमध्येको एक पर्व हो, साउने डोला। समय परिवेशले गर्दा आधुनिकतातर्फ मोहित हुँदै गएको नयाँपुस्ताले महत्व नदिँदा पर्वको रौनक नै हराएको समुदायका पाकाको अनुभूति छ। पुर्खाले वर्षौँदेखि जीवित राखेको परम्परा र संस्कृति अहिले ओझेलमा पर्दै गएकोमा अग्रजहरू चिन्तित समेत छन्। साउने तृतीयाका दिन मनाइने साउने डोलाको परम्परा जोगाउन भीमदत्त नगरपालिका–१४ र १६ मा स्थायी बसोबास गर्ने चार दर्जन बढी रानाथारू परिवारको समुदायलाई समेत कठिन हुन थालेको छ।

तीन दशकअघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा भीमदत्त नगरपालिकाको पश्चिम दक्षिणमा सट्टाभर्ना बसाइँ सरी आएका रानाथारू परिवारलाई यतिबेला आफ्नो मौलिक पहिचान जोगाउन हम्मे परेको हो। नयाँपुस्तामा आधुनिक मोहको पारो चढ्न थालेपछि परम्परागत भेषभुषा चाडपर्वमा पनि दुर्लभ भएका छन्। जसले गर्दा पर्वको मौलिकता नै हराउँदै गएको ६८ बर्षिया भज्जोदेवी रानाको धारणा छ।

‘हाम्रो पालाको जस्तो अहिले छैन, पहिले धेरै चहलपहल हुन्थ्यो।’ विगत सम्झँदै भज्जोदेवि भन्छिन्, ‘अहिले सबै सुस्त भएका छन्, पर्वको दिनपनि एक ठाउँ आउन मान्दैन।’

रानाथारू समुदायले साउनको सुरुवातदेखि यो पर्व मनाउँछन्। साउन तृतीयाका दिन महिलाहरू दाजुभाइको दीर्घायुका लागि यो व्रत बस्ने चलन छ।

‘सबै महिला दिदीबहिनीहरू आफ्नो दाजुभाइको दीर्घायुको कामना गर्दै यस दिन व्रत बस्छन्, डोला (पिङ) मा गीत गाउँदै रमाउँछन्, साँझ नजिकको नदिमा गएर पूजा गर्छन् र त्यसपछि खाना खाने चलन छ,’ रानाथारू होमस्टेका अध्यक्ष परशुराम राना भन्छन्, ‘अहिले परम्परा र संस्कृति जोगाउनै गाह्रो भएको छ। डोला हराइसक्यो भने पनि हुन्छ। होमस्टे सञ्चालनमा आएपछि जसोतसो पर्व मनाउने गरेका छौँ।’

 शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउको बसोबास भएकाले यहाँ आउने पर्यटकलाई लोभ्याउन उनीहरूले केही वर्ष यता डोला निर्माणगरी प्रदर्शन गर्दै आएका छन्।

विगतमा हर्षोल्लासका साथ मनाइने तीजमा अचेल फिक्कापन आउँदै गरेको छ। परम्परागत भेषभुषा पर्वका दिन पनि देख्न दुर्लभ भएको छ। पछिल्लो पुस्तामा आधुनिक पहिरनको मोह बढेपछि मौलिक पहिरन पर्वमा मात्रै समिति हुन थालेको रानाथारू होमस्टेका अध्यक्ष रानाको धारणा छ। ‘अचेलका युवालाई आफ्नो मौलिक र परम्परागत पर्वप्रति खासै चासो छैन, आधुनिकतामा हाम्रो संस्कृति र परम्परा विलीन हुँदै गएको छ,’ उनी भन्छन्।

रानाथारू समुदायको साउनको तिज दोस्रो ठुलो पर्व हो। यसबाहेक दीपावली, होली र जन्माष्टमी यो समुदायले ठुला पर्वका रुपमा मनाउने गरेका छन्।

‘रानाथारू समुदायको सबैभन्दा ठुलो पर्व होली हो। त्यसपछिको साउनको तीज नै हो,’ रानाथारू होस्टेका सचिव चेतराम रानाले भने, ‘अहिले डोला पर्वलाई निरन्तरता दिन नै गाह्रो भएको छ। अहिलेका पुस्तालाई आधुनिकताले लोभ्याउन थालेको छ।’

यसका पछाडि डोलाको निर्माण गर्न सहज नभएको औँल्याउँदै रानाथारू होस्टेका सचिव राना भन्छन्, ‘डोला बनाउन काठ नै पाइँदैन। पहिले जङ्गलबाट आफै चाहिने जति काठ ल्याएर डोला बनाउँथ्यौँ,’ उनी भन्छन् ।

करिब ४५ परिवार रानाथारूको बसोबास रहेको नयाँ कटान क्षेत्रमा मात्रै नभएर अन्यत्र पनि यस समुदायको डोला पर्व ओझेलमा पर्दै गएको छ। काठको सहज उपलब्धता नहुँदा वैकल्पिक उपाय अपनाउनु परेको उनको दुखेसो छ।

हरेक वर्ष साउनमा यो समुदायले नयाँ डोला बनाउँछन्। यहाँ बसाइँ सरेको केही वर्षपछि डोला बनाउन नै छाडेको जानकारी गराउँदै रानाथारू होमस्टेका अध्यक्ष राना भन्छन्, ‘६ वर्ष भयो फेरि डोला पर्व मनाउन थालेका छौँ। होमस्टेमा रानाथारू संस्कृतिको माग भएपछि जसोतसो डोला बनाएर पाहुनालाई आफ्नो कलासंस्कृति देखाउने गरेका छौँ।’

डोलासँगै रानाथारूको पहिरनले समेत आधुनिकता अंगाल्न थालेको देखिन्छ। विगतमा पहिरनबाट चिनिएको यो समुदाय अहिले आधुनिक पहिरन तिर आकर्षित छन्। वृद्धा भज्जोदेवी भन्छिन्, ‘अहिले केही घरमा मात्रै अगिया र घघिया छन्।’ सांस्कृतिक समारोह, विवाह भोजभतेर र चाडपर्वमा परम्परागत यस समुदायका युवापुस्ताले परम्परागत पहिरन लगाउने गरेका छन्।