इलाम- माइजोगमाई गाउँपालिकाले भर्खर सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेललाई हाजिरी गर्न दिएको छैन । ताप्लेजुङ्गको सिरिजङ्गा गाउँपालिकाबाट सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई हाजिरी गर्न नदिएको हो ।
सिरिजङ्गाबाट १० दिन अघिमात्रै माइजोगमाईमा उनी सरुवा भएका थिए । गाउँपालिकाको रमनापत्र दर्ता भएपछि हाजिरीपत्र माग गर्दा हाजिरी गर्न नदिएको पोखरेलले बताए । गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले विना कारण हाजिरी गर्न नदिएको आरोप उनले लगाएका छन् ।
टेलिफोनमार्फत पालिकाखबरसँग सम्पर्कमा आएका पोखरेलले भने, ‘विना कारण मलाई हाजिरी गर्न दिनु भएन । गाउँपालिकाले अध्यक्षले आफू नभएकाले बेला आएकाले हाजिरी गर्न नदिएकाे भन्नु भएकाे छ ।’
गाउँपालिकामा हाजिरी गरेपछि आफू विदामा बस्ने योजना बनाएको उनले सुनाए । तर गाउँपालिकाले हाजिरी गर्न नदिएपछि हाल विदामा बसेको उनले जानकारी दिए । विदा सकिएसँगै पुन: कार्यक्षेत्र जाने र हाजिरी गर्न नदिएमा मन्त्रालयमा जाने उनकाे भनाइ छ ।
गाउँपालिका अध्यक्ष थेबेले सिरिजङ्गा गाउँपालिकालाई आफू सरुवा भएको केही समयपछि सम्पर्क गर्न खोज्दा पनि अध्यक्षले कुनै जवाफ नदिएको उनले बताए । उनले आफू माइजोगमाईमा हाजिरी गर्नको लागि सिरिजङ्गाको अडिट रिर्पोट आवश्यक नभएको दावी गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष थेबेले प्रमुख प्रशासकीय अधिकृत पोखरेलले सिरिजङ्गा गाउँपालिकाबाट अडिट रिर्पोट नल्याएकोले हाजिरी गर्न नदिएको दाबी गरेका छन् । ‘अडिट रिर्पोट ल्याएपछि मात्रै गाउँपालिकामा हाजिरी गर्न दिने भनेको थिए । तर उहाँले ल्याउनु भएन,’ उनले भने ।
आफूले टेलिफोनमार्फत प्रमुख प्रशासकीय अधिकृत पोखरेलसँग कुराकानी गरेको र सो संवादपछि आफूहरु सम्पर्कमा नरहेको उनले पालिकाखबरलाई बताए । अडिट रिर्पोट ल्याएसँगै हाजिरी हुने उनको भनाइ छ ।
उता सिरिजङ्गा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानले प्रमुख प्रशासकीय अधिकृत पोखरेल १२ दिन अघि मात्रै सरुवा भएर गएको जानकारी दिएका छन् । सरुवा भएपनि मंगलबार मात्रै अडिट रिर्पोट तयार भएको उनले बताए । उनले भने, ‘आज मात्रै महालेखा परीक्षकको कार्यालयबाट अडिट रिर्पोट आएको छ । अब उहाँको काम हुन्छ ।’