जुम्ला–सरकारले सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्यको नीति लिएपछि जुम्लामा कोरोनाविरुद्धको खोप लगाउन नागरिकको भीड लाग्न थालेको छ । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखामा कोरोनाविरुद्धको खोप लगाउनेको भीड लागेको हो ।
चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार २/३ दिनदेखि शाखामा कोरोनाविरुद्धको खोप लगाउनेको भीड बढेको छ । चन्दननाथभन्दा पनि बाहिर गाउँपालिकाका धेरै नागरिक खोप लगाउन आउने गरेका छन् । उनले भने, ‘नगरपालिकाको जनसंख्या २४ हजार जति छ । तर, यो शाखाले २२ हजार बढी नागरिकलाई खोप लगाइसकेको छ ।’
आइतबार ४२४ जनालाई भेरोसिल पहिलो डोज र ६४ जनालाई दोस्रो खोप लगाइएको छ भने सोमबार ३३४ जनालाई भेरोसिल र २१ जनालाई दोस्रो डोज कोभिसिल खोप लगाइएको छ । अझै २/३ दिन खोप लगाउने काम जारी रहने शाखाले जनाएको छ । कोरोना महामारीबाट बच्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले सबै नागकिरलाई खोप लगाउन आग्रह गरेको छ । २७ पुसमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले यस्तो आग्रह गरेको हो ।
सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको छ । सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थिति हुने प्रशासनिक र सामाजिक कार्यक्रम नगर्न कोभिड संकट व्यवस्थापन समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसार्इंले बताइन् ।
यस्तै, अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, सार्वजनिक स्थलमा २५ बढी भेला हुन गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्ने निर्णय गरिएको छ । ७ माघदेखि लागू हुने गरी सार्वजनिक स्थल कार्यालय, होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायात र बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्दा अनिवार्य कोभिडविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।
कोभिडविरुद्धको स्वास्थ्य सुरक्षा र मापदण्ड पालन नगर्नेलाई कोभिड व्यवस्थापन आध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारबाही गरिने स्थानीय प्रशासनले बताएको छ ।
संक्रमणको दोस्रो लहरमा २३ जनाको मृत्यु
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २० वैशाख ०७७ देखि कोभिड परीक्षण ल्याब सञ्चालनमा आएको छ । संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको छ । यसमध्ये ४ सय ६३ जना नागरिकमा संक्रमण देखिएको थियो । दोस्रो लहरमा जुम्लामा ०७८ वैशाखदेखि संक्रमण देखिएको हो ।
३ हजार ८ सय २१ जनाको पिसिआर परीक्षणमध्ये १ हजार २ सय २४ जनामा संक्रमण देखिएको थियो भने ३ हजार ८ सय २ जनाको एन्टिजेन परीक्षणमध्ये ४ सय ५६ जना संक्रमित भएका थिए । १ हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ ।
जिल्लामा ५० हजार ९ सय ८५ जनाले पहिलो डोज कोभिडविरुद्धको खोप लगाएका छन् । पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ जना रहेका छन् ।