हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय सर्केगाडमा नागरिकतालगायत सिफारिस लिने सेवाग्राहीको भीड लागेको छ ।
१९ देखि २१ भदौसम्म १८२ जनाले नागरिकता लिएको इलाका प्रशासन कार्यालय प्रमुख भीमबहादुर रोकायाले जानकारी दिए ।
१९ भदौबाट दोस्रो पटक नागरिकता वितरण सुरु गरेको इलाकाले सोमबारसम्म १६२ वटा नयाँ र २० वटा नागरिताको प्रतिलिपि वितरण गरेको रोकायाले बताए ।
जिल्लाको दक्षिण भेगमा रहेका पालिकाका नागरिकलाई लक्षित गरी स्थापित इलाका प्रशासनमार्फत अदानचुली, ताँजाकोट, चंखेली र सर्केगाड पालिकाका १८२ जना नागरिकले नागरिकता लिएका हुन् ।
उनका अनुसार तीन वटा पालिकाका नागरिकले इलाका प्रशासन सर्केगाडमा पुगेर सेवा लिए भए पनि ताँजाकोटका नागरिक अहिलेसम्म सेवा लिन आइनपुगेको रोकायाको भनाइ छ ।
यसैगरी १५ नाबालक परिचयपत्र र ५ वटा अन्य सिफारिस पनि वितरण गरिएको उनले बताए । इलाका प्रशासन सर्केगाडबाट सेवा दिन सुरु गरेपछि दक्षिणी भेगका नागरिक सदरमुकाम सीमकोट पुग्नुपर्ने बाध्यता हटेको छ ।
यसअघि दक्षिणी भेगका नागरिकले ४ दिनसम्मको पैदल हिँडेरै सीमकोट पुगेर नागरिकता लगायत अन्य प्रशासनिक सेवा लिनुपर्ने अवस्था थियो । साता दिनभन्दा बढी लाग्ने काम एक दिनमै सकिने भएपछि खुसी लागेको सर्केगाड वडा नम्बर ४ का कवीन्द्र शाहीले बताए ।
‘धेरै दिन लगाएर सीमकोट पुगे पनि विभिन्न झन्झटले काम नबन्ने र होटलमा बस्दा पैसासमेत धेरै खर्च हुने गथ्र्यो । तर, अब पैसा जोगिएको छ । गाउँमै सेवा लिन सहज भएको छ’, उनले भने ।