भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आठौँ नगरसभा सुरु भएको छ । नगरपालिकाले वडा नम्बर ७ स्थित तपादम्फोमा रहेको आफ्नै सभाहलमा कार्यक्रम सञ्चालन गरेको हो ।
नगरको अर्धवार्षिक बजेट समीक्षा
चालू आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाको कुल बजेट १ अर्ब ४८ करोड २७ लाख ३ हजार ६ सय रहेकामा ११ माघसम्म ४६ करोड ६० लाख ४६ हजार ५ सय रुपैयाँ खर्च भएको नगरसभामा जानकारी दिइयो । यो कुल बजेटको ३१.४३ प्रतिशत रहेको नगरपालिकाले जनाएको छ ।
यसमध्ये पुँजीगततर्फ ८१ करोड २५ लाख ९० हजार रुपैयाँमध्ये ३०.११ प्रतिशत खर्च भएको छ । नगरपालिकाको तर्फबाट ६७ करोड १ लाख १३ हजार ६ सय रुपैयाँमध्ये ३३.०३ प्रतिशत खर्च भएको छ ।
संघीय सरकारबाट ससर्त तर्फबाट २९ करोड ५६ लाख रुपैयाँ विनियोजन भएमध्ये ३८.०८ प्रतिशत प्रगति खर्च रहेको छ । बागमती प्रदेशबाट २ करोड ९७ लाख २० हजार रुपैयाँ बजेट विनियोजन भएमध्ये १२. २७ प्रतिशत प्रगति खर्च रहेको नगरसभाको प्रतिवेदनमा उल्लेख छ ।
कुन शीर्षकमा कति खर्च ?
नगरपालिकाको शिक्षा युवा तथा खेलकुद विकास शाखामा कुल ३ करोड २८ लाख ७० हजार विनियोजन भएमध्ये हालसम्म १८ लाख ४६ हजार ४५ रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ५.६० प्रतिशत हो ।
स्वास्थ्यतर्फ ३ करोड ३५ लाख रुपैयाँ विनियोजित बजेटमध्ये १७ लाख ९४ हजार ९ सय ९३ रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ५.३० प्रतिशत हो । प्रशासन, महिला, बालबालिका र ज्येष्ठ नागरिकतर्फ १ करोड ६० लाख ३० हजार रुपैयाँ विनियोजित बजेटमध्ये ४ लाख ८० हजार रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।
१२ करोड ६० लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ताका लागि विनियोजन गरिएको थियो । त्यसमध्ये ४ करोड १९ लाख ७२ हजार १ सय ३९ रुपैयाँ पहिलो किस्ता वितरण गरिएको छ । पशुपक्षी विकासतर्फ ७६ लाख ६२ हजार रुपैयाँ विनियोजित बजेटमध्ये १०.८ प्रतिशत खर्च भएको छ ।
कृषि विकासतर्फ १ करोड ९७ लाख रुपैयाँ विनियोजित बजेटमध्ये ७.६६ प्रतिशत खर्च भएको छ । सूचना प्रविधि क्षेत्रमा १ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन भएमध्ये १७.२६ प्रतिशत खर्च भएको छ । त्यस्तै, आयुर्वेद शाखातर्फ कुल १२ लाख ४५ हजार रुपैयाँ विनियोजित बजेटमध्ये ३९.८५ प्रतिशत खर्च भएको प्रगति छ ।
राजस्व संकलन
सभामा नगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को बजेट तथा कार्यक्रमको अर्धवार्षिक प्रगति समीक्षा प्रस्तुत गर्दै नगर उपप्रमुख विना बास्तोलाले गत ६ महिनाको बीचमा नगरपालिकाले २५.३० प्रतिशत राजस्व संलकन भएको बताइन् ।
नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ का लागि कुल २८ करोड ७१ लाख ६० हजार रुपैयाँ आय प्रक्षेपण गरेकामा ११ माघसम्म ७ करोड २६ लाख ७६ हजार ८ सय ४४ रुपैयाँ संकलन गरेको थियो ।
नगरसभाले ५ वटा विधेयक प्रस्तावमा राखेको छ । ३ वटा संशोधन प्रस्तावना राख्नुको साथै २ वटा संरचनात्मक प्रस्तावना रहेका छन् ।