दाङ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ ध्यान दिनुपर्ने बताएकी छिन् । दाङको लमहीस्थित जैविक विविधता ग्रिनपार्कको अवलोकन गर्दै उनले साे बताएकी हुन् ।
स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ पनि ध्यान दिनु पर्ने उनकाे भनाइ छ। उनले भने,'आन्तरिक आय बढेमा संघीय , प्रदेश सरकारसँग धेरै सहयोग लिइरहनु पर्दैन ।' उनले यस्ता उद्यान आम्दानीको स्रोत बन्नसक्ने जनाउँदै व्यवस्थित बनाएर व्यावसायिक रुपमा अगाडि बढाएमा आन्तरिक आम्दानी पनि बढ्ने बताए ।
उद्यानबाट धेरै स्थानीय तहले राम्रो आम्दानी गरिरहेको जनाउँदै यस तर्फ सबै स्थानीय तहले ध्यान दिनुपर्ने उनको भनाइ छ। उनले उद्यानलाई पर्यटकीयस्थल तथा विद्यार्थीको सिकाइ थलोका रुपमा पनि अगाडि बढाउन सकिने बताए । उक्त उद्यान लमही नगरपालिका–५ बसपार्कदेखि उत्तरतर्फ रहेको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा उद्यान सञ्चालनमा आएको वनका अध्यक्ष पवन शर्माले बताइन् । सोही ठाउँमा ३० बिघा जग्गा छ ।