काठमाडौं। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । मन्त्रालय भागबन्डा र सरकार सञ्चालनबारे छलफलका लागि अध्यक्ष ओली बालुवाटार पुगेको बताइएको छ ।
बिहीबार मात्र सत्ता साझेदार दलले सरकारसँग सहकार्य र समन्वयका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले गठन गरेको संयन्त्रमा सत्ता गठबन्धनका शीर्ष नेताहरू रहने बताइएको छ ।
सत्तारूढ दलले एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा साझा न्यूनतम कार्यक्रमको मस्यौदा समिति पनि बनाएका छन् । समितिका सदस्यहरूमा माओवादीबाट वर्षमान पुन, राप्रपाबाट धवलशमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल सदस्य छन् । जसपाले नाम टुंगो लगाउन बाँकी छ ।
सरकारको साझा न्यूनतम कार्यक्रम र संसद्बाट विश्वासको मत हासिलपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री दाहालको योजना छ ।